इटहरी। देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा गत साउन १० गते राति भएको दुःखद घटनापछि सुनसरीमा सामाजिक तथा धार्मिक सद्भाव अझ मजबुत बनाउने उद्देश्यले प्रशासन, सुरक्षा निकाय, धार्मिक अगुवा तथा विभिन्न समुदायका प्रतिनिधिले सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्लामा उत्पन्न परिस्थितिलाई थप संवेदनशील बन्न नदिई आपसी विश्वास, भाइचारा र सहिष्णुताको वातावरण निर्माण गर्न सबै धर्म, समुदाय र पक्षबिच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको निष्कर्षसहित आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा महत्वपूर्ण बैठक सम्पन्न भएको हो ।  प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अगुवाइमा भएको बैठकमा प्रशासन तथा सुरक्षा निकायका अधिकारी, विभिन्न धार्मिक तथा सामाजिक अगुवाको सहभागिता रहेको थियो । बैठकले घटनाविशेषलाई लिएर समुदायबिच अविश्वास वा दुरी बढ्न नदिने, सामाजिक सद्भावलाई प्राथमिकतामा राख्ने र शान्तिपूर्ण सहअस्तित्वको वातावरण निर्माण गर्न सबै पक्षले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । बैठकले जिल्लाका विभिन्न सार्वजनिक स्थान तथा सडकखण्डमा विभिन्न प्रयोजनका लागि राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान झल्काउने झन्डा ध्वजा हटाउने निर्णयसमेत गरेको छ । यस निर्णयलाई धार्मिक पहिचान र आस्थाको सम्मान गर्दै सार्वजनिक स्थललाई साझा र सबै समुदायको समान अपनत्व रहने स्थानका रूपमा विकास गर्ने सकारात्मक प्रयासस्वरूप हेरिएको छ ।

डिजे तथा माइकमैत्री ध्वनि निषेध

बैठकले धार्मिक स्थल तथा सार्वजनिक कार्यक्रममा ध्वनिप्रदूषण र ठुलो आवाजमा कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि स्पष्ट निर्णय गरेको छ । स्वीकृति लिएका कार्यक्रमबाहेक सार्वजनिक स्थलमा डिजे तथा माइकमैत्री ध्वनि प्रयोग गरी सर्वसाधारणलाई बाधा अवरोध नपर्ने गरी कार्यक्रम सञ्चालन गर्ने तथा धार्मिक स्थल र विभिन्न कार्यक्रममा ठुलो आवाजमा प्रवचन, प्रार्थना, भजन तथा गीत बजाउने कार्यलाई कानुनी मापदण्ड अनुसार व्यवस्थित गर्ने निर्णय भएको छ । बैठकमा सहभागी धार्मिक तथा सामाजिक अगुवाले सुनसरी लामो समयदेखि विभिन्न जातजाति, धर्म र समुदायको साझा बसोबास रहेको जिल्ला भएकाले पछिल्लो घटनालाई सामाजिक दुरी बढाउने अवसरका रूपमा नभई सम्बन्ध अझ मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए । सुनसरीको घटनापछि जिल्लामा शान्तिसुरक्षाको अवस्था सामान्य बनाउन प्रशासन र सुरक्षा निकायले निरन्तर समन्वय गर्दै आएका छन् । संवेदनशील क्षेत्रको अवस्थाबारे नियमित सूचना सङ्कलन गर्ने, सम्भावित विवादका विषयमा स्थानीयस्तरमै संवाद गर्ने तथा कुनै पनि उत्तेजक गतिविधि हुन नदिने गरी सुरक्षा संयन्त्र परिचालन गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । बैठकको अर्को महìवपूर्ण निर्णय जिल्लामा कायम आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने रहेको छ । सुनसरीमा विभिन्न धार्मिक समुदायबिच बर्सौंदेखि कायम रहेको सामाजिक सम्बन्धलाई निरन्तरता दिन पछिल्लो पहल महìवपूर्ण हुने अपेक्षा गरिएको छ ।