धनकुटा। गत आर्थिक वर्षमा धनकुटामा कुल एक लाख ५७ हजार चार मेट्रिक टन तरकारी उत्पादन भएको छ । जिल्लामा कुल पाँच हजार ९७८ हेक्टर क्षेत्रफलमा तरकारी खेती भएको थियो ।  वर्षभरि भएको खरिदबिक्रीको औसत मूल्यका आधारमा उत्पादन भएको उपजको मूल्य सात अर्ब ९७ करोड ५८ लाख रुपियाँ हुने कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । धनकुटामा सबैभन्दा बढी गोलभेँडा उत्पादन भएको छ । गोलभेँडा ३७ हजार चार सय मेट्रिक टन उत्पादन भएको हो । त्यस्तै काउली १९ हजार १६८, अकबरे १५ हजार छ सय, बन्दा १४ हजार ९६०, बोडी १५ हजार, मटर १० हजार दुई सय, रायो साग छ हजार पाँच सय र मुला पाँच हजार आठ सय मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कमा उल्लेख छ ।  अकबरे खुर्सानी सबैभन्दा बढी तीन अर्ब १२ करोड रुपियाँ बराबरको उत्पादन भएको छ । गोलभेँडा ९३ करोड, बोडी ७५ करोड, काउली ६१ करोड ३३ लाख, पिरो खुर्सानी ३७ करोड, प्याज ३३ करोड, मटर ३० करोड, बन्दा १५ करोड, रायो साग १३ करोड रुपियाँ बराबरको उत्पादन भएको कार्यालयले जनाएको छ ।  धनकुटामा अघिल्लो आव २०८१/८२ मा एक लाख ६४ हजार २१८ मेट्रिक टन तरकारीबाली उत्पादन भएको थियो । तरकारी उत्पादनको यो परिमाण कोशी पहाडका भोजपुर, तेह्रथुम र सङ्खुवासभा जिल्लाको तुलनामा बढी भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

धनकुटाका किसानले व्यावसायिक रूपमा बन्दा, काउली, गोलभेँडा, मुला, साग लगाउँछन् । बजारको सहज पहुँच, सडक विस्तारलगायतका कारण कृषक तरकारी खेतीप्रति आकर्षण बढ्दो तथा विदेशबाट फर्किएकासमेत कृषितर्फ नै लाग्ने गरेको रानाको भनाइ छ । पछिल्लो समय आधुनिक खेती प्रविधि तथा टनेल खेतीले थप आकर्षण गराएको कृषकको भनाइ छ । जिल्लाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका अधिकांश क्षेत्रमा र धनकुटा नगरपालिका तथा पाख्रीबास नगरपालिकाका केही क्षेत्रमा तरकारी उत्पादन हुने गरेको छ । धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिधुवा बहुउद्देश्यीय सहकारी सङ्कलन केन्द्र छथरजोरपाटी, गुठीटार तरकारी केन्द्र धनकुटालगायत एक दर्जन तरकारी सङ्कलन केन्द्रमार्फत पूर्वी तराईका धरानको कृषि बजार, इटहरी, विराटनगर, दमक र बिर्तामोडमा हुँदै भारत, बङ्गलादेश, भुटानसम्म बिक्री हुने गरेको छ ।