धरान : एआई प्रविधिको प्रयोग गरी नक्कली तस्बिर तयार पारेर सामाजिक सञ्जालमा पोस्ट गर्दै चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानले धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले हर्कराज राई साम्पाङमाथि कुर्सी प्रहार गरेको जस्तो देखिने नक्कली तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टेकबहादुर मगर ‘मनु पिठा’लाई पक्राउ गरेको हो। प्रहरीका अनुसार मगरले एआई (कृत्रिम बौद्धिकता) प्रविधिको प्रयोग गरी उक्त विवादित तस्बिर तयार पारेका थिए।
उनले सो तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेपछि सम्बन्धित व्यक्तिको चरित्र हत्या तथा प्रतिष्ठामा आँच पुर्याएको भन्दै प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा प्रहरीले मगरलाई नियन्त्रणमा लिएको जनाएको छ। सामाजिक सञ्जालमार्फत व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पार्ने सामग्री सार्वजनिक गरेको आरोपमा उनीमाथि साइबर अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


