खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३१ वर्षीय पङ्की राई ‘रोशन’लाई वैदेशिक रोजगारीले खासै मन बहलाउन सकेन । त्यसलाई चटक्कै छाडेर स्वदेश फर्किए । विदेशमा रहँदा कम्पनी मालिकको पेलान तथा आफ्नो देशप्रतिको मायाले १० महिना नबित्दै फर्किएका उनीमा नेपालका पर्यटकीयस्थल घुम्ने र फोटो–भिडियोमार्फत अरूलाई घुमाउने सोख जागृत भयो । विदेशबाट फर्किलगत्तै आफ्नो सोखअनुसार पर्यटकीयस्थलको फोटो तथा भिडियो कैद गर्न क्यामेरा र ट्राइपोटसहित बन्दोबस्तीका सामग्री बोकेर पङ्की नेपालका कुना–कन्दराका नियमित यात्री बने । हरेक जिल्ला यात्राको क्रममा बटुलेको सुख, दुःख तथा पर्यटकीय सम्भावनाका क्षेत्रको फोटो तथा भिडियो पङ्कीले आफ्नो (पङ्की राई भ्लग तथा युट्युब) मा राखेका छन् । पछिल्लो समय नेपालका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धनमा दिलोज्यान दिएर लागेका उनले यही साउन २२ गते विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय फोटोग्राफी प्रतियोगितामा (ट्रेल विधा)को प्रथम उपाधि जितेका छन् ।
कोशी प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा ३७ जना फोटोग्राफरलाई उछिन्दै उनले प्रथम उपाधि जिते । बिनातालिम गुगलका सामग्री अध्ययन गरेर फोटो तथा भिडियोग्राफर बन्नुभएका पङ्कीले कैद गरेको तस्वीरलाई प्रदेशस्तरीय फोटोग्राफी प्रतियोगितामा ‘घाँसेमैदान र गोठालाको जीवन: मुन्दुम पदमार्गको जीवन्त कथा’ शीर्षक दिइएको थियो । कोशी प्रदेशको उत्कृष्ट त्यो फोटो नेपालको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत मुन्दुम ट्रेल (पदमार्ग)को सालपा–सिलिचुङ क्षेत्रमा खिचिएको हो । विदेशबाट भाइले पठाइदिएको मोबोइलले खिचेको फोटोले प्रदेशस्तरीय फोटोग्राफी प्रतियोगिताको प्रथम उपाधि जिताएको उनले जानकारी दिए । विदेशबाट फर्किएपछि नौ वर्षदेखि फोटो तथा भिडियोग्राफीमा सक्रिय उनले प्रदेश उत्कृष्ट फोटोसँगै १०–१५ वटा फोटो इन्स्टाग्राममार्फत पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशमा पठाएका थिए । फोटो तथा भिडियोग्राफर पङ्कीले प्रदेश सरकारबाट प्राप्त उत्कृष्ट फोटोग्राफर उपाधिसँगै नगद रु ७० हजारसमेत प्राप्त गरेका छन् ।
प्रदेश सरकारले प्रदान गरेको यो उपाधिसँगै फोटो तथा भिडियोग्राफीका क्षेत्रमा थप सक्रियताका साथ लाग्नुपर्ने महसुस भएको उनी बताउँछन् । प्रदेशस्तरीय फोटोग्राफी प्रतियोगिता जितेपछि उत्साहित बनेका उनले आफ्नो फोटोग्राफी व्यावसायिक नभई सोख भएको जानकारी दिए । आफूमा इच्छा, धैर्यता र लगनशीलता भए नसोचेको सफलता मिल्दोरहेछ भन्ने सन्देश यसपटक आफूले पाएको फोटोग्राफर पङ्कीले बताउनुभयो । नेपालको पर्यटन प्रवर्द्धनका लागि हिमाल, पहाड तथा तराईका विभिन्न स्थानमा डुलेर फोटो/भिडियो सङ्कलन गरिरहेको उनले जानकारी दिए । देश तथा विदेशमा रहेका पर्यटकलाई नदेखिएको तथा नपुगेको नेपालका पर्यटकीयस्थल देखाउने र पर्यटन प्रवर्द्धन गराउने उनको मुख्य ध्येय छ । पछिल्लो समय जिल्लामा उनीजस्तै अन्य युवाले पनि फोटो तथा भिडियोग्राफीमार्फत धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिरहेका छन् । कोशी प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालयले हरेक वर्ष विभिन्न विद्यामा फोटोग्राफी प्रतियोगिता गर्दै आएको छ । प्रदेशभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्न मन्त्रालयले हरेक वर्ष फोटोग्राफी प्रतियोगिता आयोजना गर्दै आएको प्रवक्ता अखिलेशकुमार गुप्ताले जानकारी दिए ।


