इटहरी। नेपाली सेनाका उपरथी शक्तिजंग बस्नेतले सोमबारदेखि इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको नेतृत्व सम्हाल्नुभएको छ । उहाँले यसअघि पूर्वी पृतनाको नेतृत्व गर्नुभएका उपरथी गौरवकुमार केसीको स्थानमा जिम्मेवारी सम्हाल्नुभएको हो । पूर्वी पृतनाको नेतृत्व सम्हाल्नुभएका उपरथी बस्नेतले तीन दशक लामो सैनिक सेवाका क्रममा नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि, रणनीतिक भूमिका, विपद् प्रतिकार्य तथा स्थानीय तह र नागरिकसँगको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।२०४७ साल मङ्सिर २८ गते नेपाली सेनामा भर्ना हुनुभएका उपरथी बस्नेतले नेपाली सेनाका विभिन्न महत्त्वपूर्ण निकाय तथा कमान्डमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँले तत्कालीन शाही रक्षक बाहिनीअन्तर्गत सिग्नल गुल्म र शत्रु भञ्जन गुल्मको गुल्मपति, सर्वदल गण तथा गणेशदल गणको गणपति, नम्बर १५ बाहिनी अड्डाको निमित्त बाहिनीपति तथा नम्बर ९ बाहिनी अड्डाको बाहिनीपतिको जिम्मेवारी सम्हालिसक्नुभएको छ । त्यस्तै, उहाँले भर्ना छनोट निर्देशनालयको निर्देशक, सैनिक कमान्ड तथा स्टाफ कलेजको कमान्डान्ट तथा सैनिक इन्टेलिजेन्स महानिर्देशनालयको निमित्त महानिर्देशकका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको छ । सैनिक सेवाका क्रममा भारत, पाकिस्तान, मङ्गोलिया, थाइल्यान्ड, सिङ्गापुर, अमेरिका लगायत विभिन्न मुलुकमा आयोजित सैन्य तालिम, कोर्स, सम्मेलन तथा सेमिनारमा सहभागी भएर उहाँले अन्तर्राष्ट्रिय सैन्य अभ्यास, नेतृत्व तथा सुरक्षा व्यवस्थापनका क्षेत्रमा समेत अनुभव हासिल गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानअन्तर्गत लेबनान, कङ्गो, सुडानलगायत विभिन्न मिसनमा समेत काम गरिसक्नुभएका उपरथी बस्नेतसँग अन्तर्राष्ट्रिय शान्ति स्थापना तथा द्वन्द्व व्यवस्थापनको अनुभव रहेको छ । पूर्वी पृतनाले कोशी प्रदेशसहित पूर्वी नेपालको सुरक्षा, विपद् व्यवस्थापन, रणनीतिक पूर्वाधार निर्माणमा सहयोग, राष्ट्रिय सम्पदा तथा ऐतिहासिक सैनिक धरोहरको संरक्षण र नागरिक–सैनिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

पूर्वी पृतनाको नेतृत्वमा आउनुभएका उपरथी बस्नेतका लागि यसअघिको नेतृत्वले अघि बढाएका ऐतिहासिक सम्पदा संरक्षण, रणनीतिक पूर्वाधार, विपद् प्रतिकार्य तथा व्यावसायिक सैनिक दक्षता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिनुका साथै बदलिँदो सुरक्षा चुनौतीअनुसार नेपाली सेनाको भूमिका थप प्रभावकारी बनाउने जिम्मेवारी रहनेछ । यसअघि पूर्वी पृतनाको नेतृत्वमा रहँदा उपरथी गौरवकुमार केसीले कोशी प्रदेशको जिम्मेवारी क्षेत्रभित्र नेपाली सेनाको व्यावसायिक दक्षता अभिवृद्धिसँगै रणनीतिक तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम अघि बढाउनुभएको थियो । विशेषगरी कोशी प्रदेशमा रहेका ऐतिहासिक किल्ला, गढी तथा नेपाली एकीकरणसँग सम्बन्धित पदमार्ग र निशान पदमार्गको संरक्षण तथा प्रवद्र्धनलाई उहाँले प्राथमिकतामा राख्नुभएको थियो । नेपालको इतिहास, राष्ट्रिय एकीकरण र सैनिक विरासतसँग जोडिएका महत्त्वपूर्ण स्थलको संरक्षणका लागि सेनाले सञ्चालन गरेका विभिन्न अभियानमा उहाँको कार्यकालमा उल्लेखनीय विस्तार भएको थियो । विजयपुर गढी, सागुरी गढी, उदयपुर गढी, चौदण्डी गढीलगायत ऐतिहासिक क्षेत्रलाई जोडेर पदयात्रा तथा निशान पदयात्रा आयोजना गरिएका थिए । त्यसैगरी विभिन्न निशान पदमार्गलगायत ऐतिहासिक तथा सैनिक महत्व बोकेका पदमार्गको संरक्षण, पहिचान र प्रवर्धनका लागि समेत कार्यक्रम सञ्चालन गरिएको थियो । यस्ता अभियानले नेपाली सेनाको इतिहास र वर्तमान पुस्ताबीचको सम्बन्ध थप मजबुत बनाउनुका साथै ऐतिहासिक सम्पदाको संरक्षणमा नागरिक सहभागिता बढाउने उद्देश्य राखेको उपरथी केसीले बताउनुभएको थियो । उपरथी केसीको कार्यकालमा पूर्वी नेपालको रणनीतिक महत्त्व बोकेको सडक पूर्वाधार विकासमा समेत नेपाली सेनाले महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको थियो ।

चीनसँगको सीमावर्ती किमाथाङ्का जोड्ने रणनीतिक सडकअन्तर्गत खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक निर्माण तथा ट्र्याक खोल्ने काममा सेनाले निरन्तर काम गर्दै आएको थियो । यही क्रममा खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत करिब १०.८१ किलोमिटर सडकको ट्र्याक खोल्ने तथा हस्तान्तरण गर्ने काम भएको उपरथी केसीले जानकारी दिनुभएको थियो । पूर्वी नेपालको दुर्गम भौगोलिक क्षेत्रमा सडक पहुँच विस्तारका साथै राष्ट्रिय सुरक्षा र रणनीतिक दृष्टिले समेत महत्त्वपूर्ण मानिएको यस सडकलाई नेपाली सेनाले प्राथमिकताका साथ अघि बढाउँदै आएको छ । उपरथी केसीको कार्यकालमा नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धि तथा विपद् प्रतिकार्य क्षमता बलियो बनाउने उद्देश्यले विभिन्न अभ्यास र अभियान सञ्चालन भएका थिए । हिमाली तथा उच्च जोखिमयुक्त क्षेत्रमा उद्धार क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘अभ्यास हिमाल दर्शन’, विपद् व्यवस्थापन तथा संरक्षणसँग सम्बन्धित ‘अभ्यास संरक्षण’, मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यसम्बन्धी ‘अभ्यास मनसुन’ तथा सुरक्षा र सैनिक दक्षता अभिवृद्धिसँग सम्बन्धित यस्ता अभ्यासले प्राकृतिक विपद्का बेला तत्काल उद्धार तथा राहतमा खटिनुपर्ने सैनिक जनशक्तिको क्षमता अभिवृद्धि गर्नुका साथै विभिन्न सुरक्षा निकायबिचको समन्वयलाई समेत प्रभावकारी बनाउने अपेक्षा गरिएको थियो । त्यस्तै, सुनसरीको देवानगञ्जमा दुई समुदायबिचको तनावपछि उत्पन्न अस्थिर अवस्था नियन्त्रणमा लिनसमेत उपरथी केसीको कार्यकालमा नेपाली सेनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । घटनाका क्रममा स्थिति थप अस्थिर, अनियन्त्रित र अराजकतर्फ जान थालेपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । प्रारम्भिक सुरक्षा परिचालनबाट मात्र अवस्था पूर्ण रूपमा नियन्त्रणमा लिन चुनौती देखिएपछि नेपाली सेनाको फौजसमेत परिचालन गरी सुरक्षा व्यवस्था थप मजबुत बनाइएको थियो ।

संवेदनशील अवस्थामा सुरक्षा निकायबिचको समन्वय कायम गर्दै जनधनको थप क्षति हुन नदिने र स्थिति नियन्त्रणमा लिने कार्यमा नेपाली सेनाको परिचालन महत्त्वपूर्ण बनेको थियो । देवानगञ्ज घटनाले स्थानीयस्तरमा सुरक्षा निकायबिचको समन्वय तथा संवेदनशील अवस्थामा तत्काल निर्णय र परिचालन क्षमताको महत्वसमेत देखाएको थियो ।