धरान। साउन महिनाको अन्तिम सोमबार धरान उपमहानगरपालिका–१४ विजयपुर डाँडास्थित प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबाधाममा ५० हजारभन्दा बढी भक्तजनले दर्शन तथा जलाभिषेक गरेका छन् । साउन महिनाभर सञ्चालन हुने बोलबम मेलाको अन्तिम सोमबार भएकाले आईतबार साँझदेखि नै पिण्डेश्वर बाबाधाममा भक्तजनको घुईंचो लागेको पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिले जनाएको छ । अत्यधिक भीडका कारण आईतबार राति देखि नैै शिवलिङ्गमा जल चढाउन ढोका खुुल्ला गरिएको व्यवस्थापन समितिका कोषाध्यक्ष पंकज घिमिरेले बताउनुभयो ।  साउन महिनाभर सञ्चालन हुने बोलबम पूजाको अन्तिम सोमबार बिहान ११ बजेसम्म करिब ५० हजार भक्तजनले दर्शन गरिसकेको र दिनभरमा १ लाख भन्दा बढी श्रद्धालुले जल चढाउने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष केही कम भक्तजन आउनुभएको हो, गुरु बृहस्पति अस्त भएकाले साउन महिनाकाको पहिलो हप्ता र दोस्रो हप्तामा मांगलिक कार्य नगर्ने धार्मिक मान्यताका कारण प्रभाव परेको पनि भगवान् शिवको पूजा आराधना गर्न मिल्ने भएकाले भक्तजनहरू आइरहनुभएको थियो । 

पिण्डेश्वरम बाबाधाममा भक्तजनहरुले सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी तथा कोकाहा खोलाबाट जल ल्याएर शिवलिङ्गमा बेलपत्रसहित अर्पण गर्ने गरेका छन् । जल चढाएमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण धरानसहित सुनसरी, मोरङ, झापा, उदयपुरलगायत देशका विभिन्न जिल्लाबाट भक्तजन बोलबम यात्रामा सहभागी हुने गरेका छन् । कतिपय भक्तजनले चतराबाट पैदल तथा खाली खुट्टा हिँडेर जल ल्याउने परम्परालाई समेत निरन्तरता दिएका छन् । टाढाटाढाबाट आएका भक्तजन आइतबार नै नदीमा स्नान गरी जल लिएर पिण्डेश्वर पुग्ने, रातभर जाग्राम बस्ने र सोमबार बिहान शिवलिङ्गमा जल चढाएर फर्कने गरेका छन् । साउन महिनामा विशेषगरी महिलाले हरियो, पहेँलो तथा रातो पहिरन, चुरा र मेहन्दी लगाएर शिवको पूजा गर्ने गरेका छन् । विवाहित महिलाले पतिको दीर्घायु तथा पारिवारिक सुख–समृद्धि र अविवाहित युवतीले योग्य वरको कामना गर्दै शिवलिङ्गमा जल तथा बेलपत्र चढाउने परम्परा रहेको छ ।

पिण्डेश्वर बाबाधाममा बोलबम मेला २०४२ सालदेखि सुरु भएको समितिले जनाएको छ । भारतको देवघरस्थित वैद्यनाथ मन्दिरमा मात्र जाने बोलबम परम्परालाई विस्तार गर्दै पिण्डेश्वरमा समेत जल चढाउने परम्परा सुरु गरिएको हो । साउन महिना शिवजीको प्रिय महिना भएकाले साउनभरि शिवालयहरुमा शिवभक्तको घुईंचो लाग्ने गर्दछ ।