इटहरी । मोरङको सुन्दरहरैँचा–२ मृगौलियामा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब ४ सय स्थानीय नागरिकले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्।
गछिया जेसीज र मृगौलिया स्वास्थ्य चौकीको संयुक्त आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो। कार्यक्रममा गछिया जेसीजका अध्यक्ष कमल ढुंगाना (कुन्दन) ले युवाको ऊर्जालाई सामाजिक उत्तरदायित्व र सेवामा जोड्दै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुन्दरहरैँचा–२ का वडाध्यक्ष विबश प्रधानले विपन्न नागरिकसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउन र समयमै परीक्षण गर्ने बानी बसाल्न शिविर प्रभावकारी बनेको बताउनुभयो।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि सामाजिक व्यक्तित्व देवराज तामाङले समाजमा सकारात्मक परिवर्तन ल्याउन स्थानीय तह, युवा र सामाजिक संघसंस्थाबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो। आफ्नै गाउँ–ठाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाएपछि स्थानीयवासीले खुसी व्यक्त गर्दै ज्येष्ठ नागरिक र विपन्न परिवारलाई लक्षित गरी यस्ता कार्यक्रम निरन्तर चलाउन सुझाव दिएका छन्। स्वास्थ्य संस्था, स्थानीय सरकार, सामाजिक संघसंस्था र युवाबीचको सहकार्यमा सम्पन्न शिविरले समुदायमा स्वास्थ्य सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वको सन्देश दिएको आयोजकको भनाइ छ। आयोजक गछिया जेसीजले आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


