ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सार्वजनिक सवारी साधन व्यवसायीहरूलाई भाडा दररेट पेश गर्न आग्रह गरेको छ । गाउँपालिकाले सात दिनको सार्वजनिक सूचना जारी गर्दै सवारी साधन भाडा दररेट पेश गर्न आग्रह गरेको हो । गाउँपालिकाद्वारा जारी सूचनाअनुसार वडा नं. ४ विशालचोकदेखि वडा नं. १ र वडा नं. ४ को फुङलुङ–थामडाँडा सडकखण्डसम्म सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गर्न आग्रह गरिएको हो । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयमा दरखास्त फाराम लिन तथा आठौँ दिन बिहान ११ बजेभित्र निवेदन दर्ता गरिसक्नुपर्ने उल्लेख गरिएको छ । गाउँपालिकाले प्राप्त प्रस्तावका आधारमा उपयुक्त दररेट निर्धारण गरी आवश्यकताअनुसार सवारी साधन भाडामा लिने जनाएको छ । प्राप्त निवेदन स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार गाउँपालिकामा सुरक्षित रहने तथा सूचनामा उल्लेख नभएका विषय प्रचलित कानुन र नियमअनुसार हुने जनाइएको छ। थप जानकारीका लागि गाउँपालिकाको जिन्सी व्यवस्थापन शाखामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

गाउँपालिकाले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र व्यवस्थित बनाउन सूचना जारी गरिएको गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले बताउनुभयो । उहाँका अनुसार यस प्रक्रियाबाट आवश्यक सवारी साधन समयमै उपलब्ध गराई गाउँपालिकाका प्रशासनिक तथा विकास निर्माणसम्बन्धी कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।