धनकुटा। धनकुटामा ऐन्टी रेबिज खोप अभाव भएको छ । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको यो खोप विगत ६ महिनादेखि कोटा अनुसार उपलब्ध हुन सकेको छैन । जिल्लामा मासिक दुई सय कोटा निर्धारण गरिए पनि मासिक ३०-४० वटा मात्रै उपलब्ध हुँदै आएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी यज्ञमणि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार विगत छ महिना वाट नियमित आपूर्ति हुन सकेको छैन । यो खोप, कुकुर, बिरालो, मुसा, सुँगुर लगायतको जनावरले टोकेको खण्डमा रेबिजविरुद्ध लगाइने गरिन्छ । जिल्ला अस्पतालमा खोप अभाव हुँदा प्रयोगकर्ता निजी स्वास्थ्य संस्थामा महँगो सुल्क तिरेर खोप लगाउन बाध्य छन् । निजी स्वास्थ्य संस्थामा प्रति खोप एक हजार रुपियाँसम्म तिर्नुपर्छ । सरकारी स्वास्थ्य संस्थामा भने सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधीको सुचीमा पर्छ । धनकुटामा भने यो खोप जिल्ला अस्पतालमा मात्र उपलब्ध हुँदै आएको छ ।

यता खोप आपूर्ति गर्दै आएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र विराटनगरले भने पर्याप्त खोप आएको जनाएको छ । केही समय अघि सम्म नियमित खोप उपलब्ध नभए पनि अहिले भने समस्या नरहेको केन्द्रका कोल्ड चेन निरीक्षक तारकेश्वर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार कोसी प्रदेशका १४ जिल्ला अस्पताल सहित ४२ स्वास्थ्य संस्थामा मासिक ४ हजार डोज  खोपको माग भए पनि ३२ हजार डोज खोप स्टकमा रहेको सिंहको भनाइ छ ।