धरान। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर सेवा विस्तार गर्ने उद्देश्यले ५ दिने कार्यशाला सुरु गरिएको छ । प्रतिष्ठानमा ‘इन्टिग्रेटेड प्यालियेटिभ एन्ड हस्पिस केयर एसेन्सियल्स’ विषयक कार्यशाला सुरु भएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिनुभयो । असाध्य तथा दीर्घरोगीका लागि आवश्यक प्यालियेटिभ तथा हस्पिस केयरको पहुँच विस्तार र सेवा सुदृढीकरण गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो । नेपाल हस्पिस केयर सेन्टरको आयोजना, वीपी प्रतिष्ठानको स्टुडेन्ट्स अन्कोलोजी विङको संयोजन तथा टु वल्र्डस् क्यान्सर कोल्याबोरेसन (क्यानडा), रोटरी इन्टरनेसनल, रोटरी क्लब अफ काठमाडौं-काष्ठमण्डप, वीपी प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र धरान उपमहानगरपालिकाको सहयोगमा कार्यशाला सञ्चालन भएको उहाँले बताउनुभयो ।
उपकुलपति प्रा.डा.स्मृति कार्कीले ‘पूर्वी नेपालमा प्रशामक स्वास्थ्य सेवाको सुदृढीकरण तथा विस्तारमा वीपी प्रतिष्ठानको भूमिका’ विषयमा र डा.विष्णु श्रेष्ठले प्यालियेटिभ तथा हस्पिस केयरको समग्र अवधारणाबारे जानकारी दिनुभएको प्रवक्ता प्रा.डा. श्रेष्ठले जानकारी दिनुभयो । प्रा.डा.पौडेलको सहजीकरणमा कार्यक्रमको पहिलो दिन प्यालियेटिभ केयर नीतिगत ढाँचा, चुनौतीहरू, सोच तथा प्रदेश र स्थानीय सरकारको प्रतिबद्धता भन्ने विषयमा प्रतिष्ठानकी उपकुलपति, पूर्व पदाधिकारी, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि र समुदायस्तरका प्रतिनिधिबीच प्यालियेटिभ केयरको पहुँच र विस्तारका विषयमा छलफल भएको थियो । कार्यशालामा प्रतिष्ठानका निमित्त अस्पताल प्रमुख डा.इन्द्रकुमार लिम्बू, निवर्तमान उपकुलपति प्रा.डा.विक्रम प्रसाद श्रेष्ठ, नेपाल एसोसिएसन अफ प्यालियेटिभ केयरका अध्यक्ष एवं किष्ट मेडिकल कलेजका प्रा.डा. विष्णुदत्त पौडेल, नेपाल–इन्डिया हेल्थ कर्पोरेसन एन्ड डेभलपमेन्ट अफ प्यालियेटिभ केयर अन्तर्गत भारतीय दूतावास (पेन्सन पेइङ अफिस) का प्रमुख मेजर शम्मी सुवर्ण, भक्तपुर क्यान्सर अस्पतालका डा.विष्णु श्रेष्ठ लगायत कोशी प्रदेशका विभिन्न अस्पतालका प्रतिनिधिको सहभागिता रहेको छ ।


