इटहरी । प्राइम भिजन हस्पिटालिटी म्यानेजमेन्ट कलेजले सोमबार ‘साउथ इण्डियन थिम’मा आगन्तुक अभिभावक तथा पाहुनालाई स्वागत तथा सत्कार गरेको छ।

दक्षिण भारतीय संस्कृति झल्किने गरी कलेज परिसर सजाएका विद्यार्थीहरूले सांस्कृतिक भेषभूषामा सजिएर आगन्तुकलाई स्वागत गरेका थिए । विद्यार्थीहरूले नरिवलमा लस्सी मिसाएर तयार पारिएको विशेष पेय पदार्थबाट पाहुनाको स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले दक्षिण भारतीय परिकार अन्तर्गत इडली, साम्बर, डोसा, भेज बिर्यानी, नरिवलको चट्नी, पुदिनाको चट्नी लगायतका परिकार तयार गरी अभिभावक तथा आगन्तुकलाई पस्किएका थिए ।

प्रयोगात्मक परीक्षा अन्तर्गत आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले दक्षिण भारतीय सांस्कृतिक भेषभूषामा नृत्य समेत प्रस्तुत गरेका थिए । साथै, दक्षिण भारतीय संस्कार, संस्कृति, भेषभूषा तथा परिकारसँग सम्बन्धित सामान्य ज्ञानमा आधारित प्रतियोगिता समेत आयोजना गरिएको थियो। कलेजका अध्यक्ष अनिल श्रेष्ठका अनुसार विद्यार्थीको प्रयोगात्मक ज्ञान र सीप विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना हुँदै आएका छन्।

यसअघि विद्यार्थीहरूले ‘जापानिज थिम’मा जापानी संस्कृति तथा परिकार प्रस्तुत गरेका थिए । धरानस्थित प्राइम भिजन इन्टरनेशनल कलेजले ‘प्लस–टु’सँगै एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट एडीएचएम र एड्भान्स डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजी एडीआईटी अध्यापन गराउँदै आएको छ। कलेजका निर्देशक श्रेष्ठका अनुसार डुअल डिग्री कार्यक्रम मार्फत विद्यार्थीहरूले विद्यालय तहको अध्ययनसँगै अन्तर्राष्ट्रियस्तरको व्यावसायिक शिक्षा र व्यावहारिक सीप हासिल गर्ने अवसर पाउँदै आएका छन् । विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै विभिन्न देशका संस्कृति, खानपान, आतिथ्य सत्कार र व्यावसायिक सीपसँग परिचित गराउने उद्देश्यले यस्ता ‘थिम बेस्ड’ कार्यक्रमलाई निरन्तरता दिइँदै आएको कलेजले जनाएको छ ।