इटहरी। कोशी प्रदेशमा लागुऔषधको अवैध ओसारपसार तथा कारोबार बढ्दै गएको पाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले खैरो हेरोइन (ब्राउन सुगर) को अवैध कारोबार बढ्दै गएको र यसको सञ्जालसमेत विस्तार भइरहेको देखाएको छ । लागुऔषधसम्बन्धी अपराध प्रदेशमा दोस्रो स्थानमा रहेको र यसबाट युवा पुस्ता तथा समग्र समाज प्रभावित बन्ने खतरा बढेको प्रहरीले जनाएको छ ।

पछिल्लो तीन वर्षको तथ्याङ्क प्रस्तुत गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले तीन वर्षअघि तीन किलो ब्राउन सुगर बरामद भएकोमा आर्थिक वर्ष २०८१/८२ मा पाँच किलो र गत आर्थिक वर्ष २०८२/८३ मा १० किलो बरामद भएको जनाएको छ । ब्राउन सुगरको बरामद परिमाण बढ्दै जानुले यसको कारोबारको सञ्जाल विस्तार भइरहेको प्रहरीको निष्कर्ष छ । त्यतिमात्र होइन, प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो समयमा लागुऔषध प्रयोगकर्ताको रोजाइमा समेत परिवर्तन आएको पाइएको छ । विगतमा एम्पुल (सुई) र ट्याब्लेटजन्य लागुऔषध प्रयोग गर्नेको सङ्ख्या उल्लेख्य हुने गरेको थियो । प्रहरीले बरामद गर्ने लागुऔषध र पक्राउ पर्ने व्यक्तिको विवरणका आधारमा एम्पुल तथा ट्याब्लेटजन्य लागुऔषधको प्रयोग घट्दै गएको र ब्राउन सुगरका प्रयोगकर्ता बढ्दै गएको जनाएको छ । प्रयोगकर्ताको रोजाइमा आएको परिवर्तनसँगै ब्राउन सुगरको नयाँ सञ्जाल विकास भएको प्रहरीको निष्कर्ष छ । कोशी प्रदेश प्रहरीका अनुसार तीन वर्षअघि प्रहरीले १० हजार थानभन्दा बढी एम्पुल लागुऔषध बरामद गरेको थियो । दुई वर्षअघि यो सङ्ख्या घटेर पाँच हजार एम्पुलमा झरेको थियो । गत वर्ष सुईबाट प्रयोग हुने लागुऔषधको बरामद परिमाण अझ घटेर दुई हजार ४९ एम्पुलमा झरेको छ । तर ब्राउन सुगरको बरामद परिमाण दोब्बरभन्दा बढी बढेकाले चिन्ताको विषय बनेको प्रहरीले जनाएको छ ।

त्यस्तै, ट्याब्लेटजन्य लागुऔषधको बरामद परिमाण पनि क्रमशः घट्दो क्रममा रहेको पाइएको छ । तीन वर्षअघि आठ लाख ४३ हजार ट्याब्लेट बरामद भएकोमा दुई वर्षअघि सात लाख ५० हजार र गत वर्ष सात लाख ४४ हजार ट्याब्लेट बरामद भएको थियो । प्रहरीले गाँजा नियन्त्रणका क्रममा गत वर्ष २७ हजार किलोभन्दा बढी गाँजा बरामद गरी नष्ट गरेको जनाएको छ । लागुऔषधसम्बन्धी मुद्दामा गत वर्ष मात्र दुई हजार सात जना प्रतिवादी पक्राउ परेका थिए । त्यस्तै, ६० जना अझै फरार रहेको प्रहरीले जनाएको छ । कोशी प्रदेशका नवनियुक्त प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले लागुऔषध नियन्त्रणलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेको बताउनुभएको छ ।  उहाँले ब्राउन सुगरको आपूर्ति शृङ्खला (सप्लाई चेन) नै ध्वस्त पार्ने गरी काम गरिने बताउनुभयो । त्यसका लागि झापा, मोरङ र सुनसरीमा लागुऔषधविरुद्ध विशेष अभियान सुरु गरिएको र स्थानीय तहको वडास्तरसम्म समिति गठन गरी अभियानलाई प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो । कोशी प्रदेशमा भारतसँग ४२७.९ किलोमिटर खुला सीमा जोडिएका कारण चोरी, तस्करी तथा लागुऔषध ओसारपसारजस्ता अपराधजन्य गतिविधि नियन्त्रण सुरक्षा निकायका लागि चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । नागरिकको विश्वास जित्दैअपराध रोकथामका लागि सीसीटीभी क्यामेरा, प्रविधिमैत्री निगरानी तथा आधुनिक उपकरणसहितको अनुसन्धानमा जोड दिइने डिआइजी खनालले बताउनुभयो ।