इटहरी। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशहाको हात्तीसारमा विश्व हात्ती दिवस मनाइएको छ । बुधबार आरक्षमा रहेको हात्तीलाई विभिन्न परिकार खुवाएर आरक्ष घुमाएर दिवस मनाएको हो । 

हात्ती दिवस ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ मुल नाराका साथ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयमा मनाइएको आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । आरक्ष मध्यपर्ती क्षेत्रका नागरिकहरु र सांरक्षणकर्मीहरुको उपस्थितीमा वन्य हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा हात्तीका प्राकृतिक आवागमन मार्ग (कोरिडोर) संरक्षणमा जोड दिँदै दिवस मनाइएको यादवले बताउनुभयो । दिवसको अवसरमा संरक्षणकर्मीहरूले हात्ती बचाउन जङ्गल मात्र जोगाएर नपुग्ने भन्दै जङ्गल जोड्ने प्राकृतिक आवागमन मार्गसमेत सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन् ।  आरक्षमा १० वटा र जङ्गली हात्ती रहेको अनुमान रहेको छ । केही सहभागीहरुले हात्तीले आरक्ष मध्यवर्ती क्षेत्रमा बाली नष्ट गर्ने, घर तथा सम्पत्तिमा क्षति पुर्याउनेदेखि मानिस र हात्ती दुवै घाइते हुने तथा ज्यान जानेसम्मका घटना हुँदै आएकाले हात्तीको संरक्षण गर्दै नागरिकको सुरक्षामा पनि सरकार गम्भिर बन्नुपर्नेमा जोड दिएका थिए । स्थानीय विदीलाल सरदारले नेपालमा मानव–हात्ती द्वन्द्व अहिले वन्यजन्तु संरक्षणको प्रमुख चुनौती बनेकाले यसलाई ध्यानमा राखेर कार्यक्रम ल्याउन सके मात्रै दिवशको सार्थक हनुे बताउनुभयो ।  

नेपालमा हात्ती संरक्षणका लागि सन् २०२५ देखि २०३५ सम्मको १० वर्षे हात्ती संरक्षण कार्ययोजना समेत अघि सारेको संरक्षणकर्मी सत्य मण्डलले जानकारी दिनुभयो । कार्ययोजनाले हात्तीको बासस्थान तथा करिडोर संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण र समुदायमा आधारित संरक्षणलाई प्राथमिकता दिएको छ । उहाँले वन्य हात्तीका साथै आरक्षहरुमा रहेका घरपालुवा हात्तीको कल्याण, उचित व्यवस्थापन र संरक्षणलाई पनि संरक्षण नीतिको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कोशी टप्पु सुनसरी र सप्तरी जिल्लामा सप्तकोशी नदीले बनाएको टापूमा यो आरक्ष अवस्थित छ । आरक्षको मुख्य उद्देश्य नेपालमा अति दुर्लभ मानिएको अर्ना (जङ्गली  भैंसी) को संरक्षण गरी अर्नाको संख्या बृद्धि गराउनु रहेको भएपनि हातीको सहिज जनावर र वन्यजन्तुको संरक्षणमा काम गर्दै आएको छ ।