इटहरी। तराईका जिल्लामा गर्मी बढेसँगै उत्तरपूर्वी मोरङको रमितेमा गर्मी छल्न पर्यटकको चहलपहल बढेको छ । महेन्द्र राजमार्ग अन्तर्गत मोरङको किसानचोकबाट करिब २२ किलोमिटर उत्तरमा रहेको मिक्लाजुङ गाउँपालिका–१ को रमिते समुद्र सतहदेखि करिब एक हजार पाँच सय मिटर उचाइमा छ । तराईमा तापव्रmम ३८/४० डिग्री सेल्सियस पुग्दा रमितेमा भने १८/१९ डिग्री आसपास हुने भएकाले गर्मी छल्न आन्तरिक पर्यटक रमिते पुग्न थालेका हुन् ।
दुई दिनको सरकारी बिदाले रमितेको पर्यटन र आर्थिक गतिविधि झनै चलायमान भएको छ । साउन ९/१० गतेपछि बढेको गर्मीले रमितेमा बास पाउनै मुस्किल हुन थालेको छ । होटेल व्यवसायी भोला लुइटेलले भन्नुभयो, “एक दिन बिदा हुँदा पाहुना शुक्रबार आएर शनिबार फर्किन्थे । अचेल शुक्रबार साँझ आएर आइतबार साँझ मात्र फर्कन्छन् । गर्मी मौसममा आन्तरिक तथा भारतीय पर्यटकको आगमन बढेपछि पछिल्लो दुई वर्ष यता मात्रै यहाँ करिब १८ वटा सानाठुला होटेल सञ्चालनमा आएका छन् । केही ठुला होटेल निर्माणाधीन अवस्थामा छन् । स्थानीय होटेल टेन्ट टाउनका सञ्चालक कुमारी लिम्बूले गर्मीमा होटेलका कोठा भरिएर पाहुनालाई बाहिर टेन्ट हालेरसमेत सेवा दिँदै आएको बताउनुभयो । उहाँले २८ महिनाअघि डेढ करोड रुपियाँ लगानीमा सुरु गरेको होटेलमा अहिले करिब तीन करोड लगानी भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार होटेलले जाडोमा १८ र गर्मीमा २४ जना स्थानीयलाई रोजगारी दिइरहेको छ । पर्यटन व्यवसाय बढेसँगै रमितेबाट तराईतिर बसाइँ सर्ने व्रmमसमेत रोकिँदै गएको मिक्लाजुङ–१ का वडाध्यक्ष पर्वत राईले बताउनुभयो । राईले भन्नुभयो, “सडक, बिजुली र आधारभूत स्वास्थ्य सेवा सुविधा गाउँमै पुगेपछि गाउँमै सम्भावना देखिन थालेको छ । उत्पादन गर्दा यहाँ नबिक्ने केही छैन । पहिले आफूले उत्पादन गरेको फलफूल, तरकारी र नगदे बाली बिक्री गर्न डोकामा हालेर नाम्लो लगाएर पाँच घण्टा हिँडेर पछि बल्ल टाँडी बजार पुगिन्थ्यो । टाँडी पु¥याएर पनि व्यापारीको मूल्यमा दिनु पथ्र्याे । अहिले किसान आफूले तोकेको मूल्यमा तरकारी, फलफूल बिव्रmी गर्न पाएको बताउँछन् ।
स्थानीय सन्तोष राईले गाउँमा उत्पादन भएका कृषि तथा पशुजन्य वस्तु बिक्री हुन थालेपछि मानिस गाउँ छाड्नेभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्नतर्फ आकर्षित भएको बताउनुभयो । उहाँका अनुसार होटेल र पर्यटकका कारण निगुरो, स्कुस, आलु, सुन्तला, कागती, नास्पाती, अम्बा, अलैँची, अम्लिसो, तेजपात र अदुवालगायतका उत्पादनले गाउँमै बजार पाउन थालेका छन् । बजारमा निकालिसक्दा सकिन्छ । तराईको भन्दा केही सस्तो र ताजा हुने भएकाले रमिते पुगेका मानिस कोसेलीका रूपमा तरकारी, फलफूल लान्छन् । होटेल व्यवसायी भोला लुइटेलले पर्यटन बढेसँगै स्थानीय उत्पादनको माग पनि बढेको बताउनुभयो । उहाँका अनुसार स्थानीय कुखुरा, हाँस, बङ्गुर र खसीको माग बढेको छ । होटेलको सङ्ख्या थपिँदै जाँदा स्थानीय उत्पादनले बजार पाउन थालेको उहाँको भनाइ छ ।


