इटहरी। धनकुटाको महालक्ष्मी नगरपालिका–५, लेगुवास्थित रामबजारका प्रदीप श्रेष्ठको गर्मियाममा अधिकांश समय सर्प उद्धारमै बित्ने गरेको छ । उहाँले धनकुटासहित भोजपुर र सङ्खुवासभाका विभिन्न स्थानका घर तथा बस्ती आसपासका सर्प उद्धार गर्दै आउनुभएको छ । उहाँले अहिलेसम्म करिब चार सयभन्दा बढी सर्प उद्धार गरी सुरक्षित स्थानमा पु¥याउनुभएको छ । उहाँले किङकोब्रा, गोमन (स्पेक्टेकल्ड कोब्रा), करेत, -याट स्न्याकदेखि लिएर विभिन्न प्रजातिका सर्प उद्धार गर्नुभएको छ ।
पछिल्लो समय भने तराई क्षेत्रमा पाइने सर्पसमेत पहाडी क्षेत्रमा पाउने गरेको उहाँको अनुभव छ । पहाडमा पाइने रैथाने सर्प तराईमा पाइने सर्पको तुलनामा कम विषालु हुने भएकाले पहाडमा सर्पको जोखिम कम हुने गरेको थियो । तराई क्षेत्रमा पाइने सर्पसमेत पहाडमा देखिन थालेपछि सर्पको जोखिम बढेको हो । उहाँका अनुसार करेट, गोमन, धामनलगायतका सर्प तराईमा पाइने सर्प हुन् र पछिल्लो समय यी सर्प पहाडमा पनि देखिन थालेका हुन् । राजगोमनलगायतका सर्प भने पहाड तराई दुवैतर्फ पाइने उहाँको भनाइ छ । सवारीसाधनमार्फत यस्ता सर्प पहाडसम्म आएको हुन सक्ने उहाँको अनुमान छ । पछिल्लो समय पूर्वी पहाडमा देखिन थालेको राजगोमनका कारण पनि त्रास बढेको छ । बितेको आर्थिक वर्षमा मात्रै ३७ वटा राजगोमन घर, गोठ तथा बस्ती आसपासबाट उद्धार गरी जङ्गलमा छाडिएको डिभिजन वन कार्यालय धनकुटाका डिभिजन वन अधिकृत सञ्जीवराज ढकालले जानकारी दिनुभयो । केही वर्षयता मात्र यी सर्प देखिन थालेको उहाँको भनाइ छ । यो धेरै विषालु सर्प भएकाले यसले टोकेको केही समयमै मानिसको मृत्यु हुन्छ तर यसले आफूलाई असर नभई नटोक्ने ढकालको भनाइ छ । ढकाल भन्नुहुन्छ, “पछिल्ला केही वर्षयता यो सर्प भेटिन थालेको हो यसको कारण पहाडी गाउँघरमा जोखिम बढाएको छ ।” धनकुटामा मात्र नभई समग्र पहाडी क्षेत्रमा पछिल्लो समय सर्पको जोखिम बढेको उहाँको अनुभव छ । जलवायु परिवर्तन, डढेलो र सामान ढुवानीका व्रmममा सर्प सर्ने गरेको हुन सक्ने उहाँको अनुमान छ । यस्ता सर्प पहिले पहाडी क्षेत्रमा नभेटिने तर अहिले धेरै भेटिने भएकाले यी सर्प कहाँबाट कसरी आए भन्नेबारे थप अध्ययन भइरहेको पनि ढकाल बताउनुहुन्छ ।
बढ्दै सर्पदंशका बिरामी
जिल्ला अस्पताल धनकुटाको तथ्याङ्क अनुसार सर्पदंशका बिरामी बढिरहेको पाइन्छ । केही वर्षअघिसम्म एक/दुई जना मात्र सर्पदंशका बिरामी उपचारका लागि आउने गरेकोमा अहिले यो व्रmम बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा २३ जना सर्पदंशको उपचार सेवा लिएकोमा आव २०८२/८३ मा ६१ पुगेको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी यज्ञमणि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पतालमा एन्टिबायोटिक प्रयोग गरी गरिने उपचार मात्र सम्भव रहेको छ । एन्टिभेनम (विषनाशक औषधी) प्रयोग गर्नुपर्ने सर्पदंशका बिरामीलाई सिफारिस गर्ने गरिएको उहाँको भनाइ छ । एन्टिभेनममार्फत गरिने उपचारका लागि एन्टिभेनमसहित पूर्वाधार र तालिम प्राप्त दक्ष जनशक्ति नरहेको खतिवडाको भनाइ छ ।


