इटहरी।  ट्याक्टरमा काठ लोड गर्ने क्रममा काठले किचेर खोटाङमा एक युवकको मृत्यु भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङ भञ्ज्याङ सडकमा काठले किचेर धनकुटाको पाख्रिबास नगरपालिका–३ का ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो।

काठ बोकेको ट्याक्टर सडकमा पल्टिएपछि उठाएर पुनः काठ लोड गर्ने क्रममा मगरको मृत्यु भएको स्थानीयले बताएका छन्। शुक्रबार बिहान करिब ४ बजे को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको मुडा लोड गरी डोरीले बाँध्ने क्रममा चिप्लिएर मुडासँगै लडेका मगरलाई काठले किचेको बताइएको छ। उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

घटनापछि ट्याक्टरसहित चालक धनकुटाका १९ वर्षीय सुनिल गुरुङलाई स्थानीय प्रहरी चौकी छितापोखरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको कार्यालयले जनाएको छ।