इटहरी : प्रहरीले बिर्तामोडबाट भन्सार छली गरी ल्याइएको ९ लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ त्रिवेणी टोलस्थित शनिश्चरे रोडबाट बुधबार साँझ सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामानको कुल मूल्य ९ लाख ५ हजार ४५ रुपैयाँ रहेको छ। विशेष सूचनाका आधारमा खटिएको टोलीले शंकास्पद रूपमा राखिएका तथा ओसारपसारका लागि ल्याइएका सामान नियन्त्रणमा लिएको हो। बरामद हुनेमा तयारी पोसाक र खाद्यवस्तु छन्। हुडी, ज्याकेट, बालबालिकाका ट्राउजर तथा विभिन्न प्रकारका भेस्टसँगै अमूल पिज्जा चिज, दूध पाउडर, मिल्किस्ट चिज बिस्कुट, हल्दिरामको पालक पनिर पाउडर, मटर पनिर र मिश्रीलगायत सामान प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद सामान हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। प्रहरीले सामानको स्रोत र भन्सार छली गरी ल्याइएको विषयमा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।


