इटहरी : कर्मचारीमाथि कुटपिट भएको भन्दै नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। कार्यालयका कर्मचारी सोमराज उप्रेतीलगायतमाथि भएको आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै कर्मचारीले चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।
बिहीबार बिहान करिब ११ बजे शेखर ओली नाम गरेका व्यक्ति कृष्ण मगरसँग सम्बन्धित विद्युत चुहावटको फाइल लिएर वितरण केन्द्र पुगेका थिए। फाइलका विषयमा विवाद भएपछि उनले कार्यालयका कर्मचारीमाथि हातपात गरेको कर्मचारीको आरोप छ। घटनाबारे छलफल गर्न पीडित कर्मचारी तथा कार्यालयका अन्य कर्मचारी इलाका प्रहरी कार्यालय धुलाबारीतर्फ जाने क्रममा प्रहरी कार्यालयको गेटमै अर्को समूहले आक्रमण गरेको कर्मचारीले बताएका छन्। मेचीनगर–११ का शम्भू राजवंशीसहित १४–१५ जनाको समूहले आफूहरूमाथि साङ्घातिक आक्रमण गरेको कर्मचारीको आरोप छ। आक्रमणबाट टाउको, आँखा, छाती र गर्दनमा चोट लागेको जनाइएको छ। घाइते कर्मचारीको बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। घटनापछि कर्मचारीले जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय, मेचीनगर नगरपालिका, विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय र कोशी प्रादेशिक कार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमार्फत कर्मचारीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। माग सम्बोधन नभए विद्युतजस्तो अत्यावश्यक सेवासमेत प्रभावित हुने गरी आन्दोलन अघि बढाउने चेतावनी कर्मचारीको छ। कर्मचारीले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमअनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापामा ज्ञापनपत्र बुझाइएको छ। माग सम्बोधन नभए साउन ३० र ३१ गते कर्मचारीले हातमा कालोपट्टी बाँधेर कार्यालयको नियमित काम गर्नेछन्। त्यसपछि पनि माग सम्बोधन नभए भदौ १ गते बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म कालोपट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिने कार्यक्रम तय गरिएको छ।
भदौ २ गते पनि माग सम्बोधन नभए बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कर्मचारीले बताएका छन्। त्यसबाट समेत समस्या समाधान नभए दैनिक अत्यावश्यक सेवामा कार्यरत कर्मचारीसमेत कामबाट अलग हुन सक्ने चेतावनी दिइएको छ। कर्मचारीले त्यस अवस्थामा विद्युत सेवा प्रवाहमा आउन सक्ने समस्याको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने बताएका छन्। विद्युत प्राधिकरणका कर्मचारीले कार्यालय परिसर तथा सार्वजनिक स्थानमा कर्मचारीमाथि हुने आक्रमणले सेवा प्रवाहमै असर पार्ने भन्दै सुरक्षाको प्रत्याभूति र दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन्। विद्युत चुहावटसम्बन्धी फाइलको विषयबाट सुरु भएको विवाद कर्मचारीमाथिको कुटपिटसम्म पुगेपछि धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारी आन्दोलित बनेका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउने र दोषीमाथि कानुनी प्रक्रिया अघि बढाउने अपेक्षा कर्मचारीले गरेका छन्।


