झापा। झापाको अर्जुनधारा नगरपालिका–८ सारुगाउँका एक पुरुषको सर्पदंशबाट मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय विनोद लिम्बू रहेको जनाइएको छ। घरमै सुतिरहेका बेला बिहीबार राति लिम्बूलाई सर्पले डसेको थियो। सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगिएको थियो।
त्यहाँ उपचार गराइरहेका लिम्बूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा रिफर गरिएको थियो। अस्पताल पुर्याएर उपचार सुरु गरिए पनि उनको अवस्था सुधार हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ। पछिल्लो समय वर्षायामसँगै झापाका ग्रामीण तथा सहरी क्षेत्रमा सर्पदंशका घटना बढ्ने गरेका छन्। घरभित्रै सर्प पस्ने र राति सुतिरहेका बेला डस्ने घटना हुने भएकाले विशेषगरी गर्मी तथा वर्षायाममा सावधानी अपनाउन चिकित्सकले सुझाव दिँदै आएका छन्।


