इटहरी। पाँचथरको सदरमुकाम फिदिममा सञ्चालित अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत रहेको पाइएको छ। नियामक निकायले शुक्रबार फिदिममा गरेको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालय तथा पाँचथर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले फिदिमका आठ वटा मासु पसलको अनुगमन गरेका थिए। अनुगमनका क्रममा अधिकांश पसलमा मासु सुरक्षित राख्ने व्यवस्था, सरसफाइ, मूल्यसूची तथा उपकरणको स्वच्छतामा कमजोरी देखिएको अनुगमन टोलीले जनाएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथर–ताप्लेजुङका निरीक्षक डा. रोशन दाहालका अनुसार अधिकांश पसलमा मासु राख्ने स्थानमा सिसा वा जालीको व्यवस्था नभएको, पर्याप्त सरसफाइ नगरिएको, मूल्यसूची नराखिएको तथा मासु काट्ने अचानो र औजार नियमित रूपमा सफा नगरेको पाइएको छ। उहाँले कतिपय पसलमा मासुसँगै खाद्यान्न तथा तरकारीसमेत बिक्री गर्ने गरिएको पाइएको बताउनुभयो। मासु र अन्य खाद्यवस्तु छुट्टाछुट्टै राख्न तथा पसललाई स्वच्छ र व्यवस्थित बनाउन व्यवसायीलाई निर्देशन दिइएको उहाँको भनाइ छ।
नियमावलीअनुसार पसलको भुइँ पानी नसोस्ने र सजिलै सफा गर्न सकिने हुनुपर्छ। भित्ता सफा गर्न मिल्ने तथा चरा, किरा र मुसा प्रवेश गर्न नसक्ने व्यवस्था हुनुपर्ने उल्लेख छ। मासु भुइँ, भित्ता वा अन्य अस्वच्छ वस्तुसँग सम्पर्क नहुने गरी राख्नुपर्ने प्रावधान पनि रहेको छ।त्यस्तै, मासु काट्ने अचानो, औजार र अन्य उपकरण सफा राख्नुपर्ने तथा मासुमा पानी छर्कने, पानीमा डुबाउने, रङ वा अन्य रसायन प्रयोग गर्न नपाइने व्यवस्था छ। मासु र भित्री अङ्ग छुट्टाछुट्टै राख्नुपर्ने तथा फोहोर र रगतको उचित व्यवस्थापन गर्नुपर्ने मापदण्डसमेत रहेको छ। अनुगमनका क्रममा व्यवसायीलाई पहिलो चरणमा मापदण्ड पूरा गर्न निर्देशन दिइएको डा. दाहालले बताउनुभयो।
अनुगमन गरिएका पसलमा याङनाम फ्रेस हाउस, मेची फ्रेस हाउस, सौगात माछा–मासु पसल, दैनिक फ्रेस हाउस, नेम्वाङ फ्रेस हाउसलगायत गोसलाइन क्षेत्रका मासु पसल रहेका छन्। अनुगमन टोलीले उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपलब्ध गराउन सरसफाइ तथा खाद्य स्वच्छतामा विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गरेको छ।


