इटहरी। जीर्ण अवस्थामा रहेको कटारी ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अब दुई लेनमा विस्तार गरिने भएको छ । मिर्चैया–कटारीखण्डको कटारी–मरुवा–भदौरे सडकलाई स्तरोन्नति गरी दुई लेनमा विस्तार गर्ने प्रव्रिmया अघि बढिसकेको आयोजना कार्यालय कटारीले जनाएको छ ।
मिर्चैया–घुर्मी–कटारी योजना कार्यालयका प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर विवेक पाण्डेका अनुसार हाल अत्यन्तै जीर्ण अवस्थामा रहेको एक लेनको २७.५ किलोमिटर सडकलाई दुई लेनमा विस्तार गरी सात मिटर चौडाइमा अस्फाल्ट प्रविधिको कालोपत्रे बनाउन दुई वटा खण्डमा बोलपत्र आह्वान भई अहिले प्राविधिक मूल्याङ्कनको काम भइरहेको छ । उक्त खण्डको सडक निर्माणका लागि तीन अर्ब ९४ करोड ५४ लाख रुपियाँ बजेट अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भई आएकाले दुई वटा बोलपत्र आह्वान भई ठेक्का प्रव्रिmया अगाडि बढिसकेको पाण्डेले जानकारी दिनुभयो । कुल लम्बाइ करिब ७२ किलोमिटर रहेको मिर्चैया–कटारी–घुर्मी सडकमध्ये मिर्चैया–कटारीखण्डमा एक लेन सडक कालोपत्रे भइसकेको छ भने कटारी–घुर्मीखण्डको ४६ किलोमिटरमध्ये आठ किलोमिटरमा मात्रै कालोपत्रे गरिएको छ । अब दुई लेनमा विस्तार हुने सडक कटारी नगरपालिका–४ को मरुवाखोलादेखि वडा नम्बर १४ को लेखनी–भदौरेसम्म हुने इन्जिनियर पाण्डे बताउनुहुन्छ । यो खण्डमा पहिले कालोपत्रे गरेपछि आगामी वर्षमा आयोजनाले बाँकी सडकलाई पनि व्रmमशः दुई लेनमा स्तरोन्नति गर्ने योजना बनाएको उहाँले बताउनुभयो । २०३४ सालमा सिराहाको मिर्चैयादेखि उदयपुरको कटारीसम्म सडक पुगेपछि कटारी–ओखलढुङ्गा सडक निर्माण सुरु भएको थियो । पछि नेपाली सेनाले ट्र्याक खोलेपछि २०५८ सालमा कटारी–घुर्मी सडकमा यातायात सञ्चालन आएको हो । त्यतिबेला कटारी–घुर्मी खण्डमा ओटासिल प्रविधिको कालोपत्रे गरिएको भए पनि त्यसयता मर्मत नहुँदा त्यो सबै उप्किएर अहिले सडक जीर्ण बनेको छ ।
उदयपुर खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु गरी चार वटा जिल्लाको आर्थिक मेरुदण्डका रूपमा रहेकोे यो सडकको स्तरोन्नति बर्सौंदेखि स्थानीयले माग गर्दै आएका छन् । यो सडक उदयपुर मात्र नभएर ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङका बासिन्दाका लागि पनि तराईसँग जोड्ने प्रमुख यातायात मार्ग हो । कटारीबाट मदन भण्डारी लोकमार्ग र महेन्द्र राजमार्गसँग जोडिने यो सडक घुर्मीबाट मध्यपहाडी लोकमार्ग हुँदै बिपी राजमार्गमार्फत काठमाडौँ पुग्ने छोटो र महìवपूर्ण मार्गका रूपमा पनि प्रयोग हुँदै आएको छ ।


