इटहरी । सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागेको ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
एक्स्पो भोलि विराटचोक स्थित नेपालीरिका होटलमा आयोजना हुँदैछ । हिकभिजन र म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा हुन लागेको एक्स्पोमा आर्टिफिसियल इन्टेलिजेन्स एआई सहित सुरक्षा प्रणालीका क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि तथा हिकभिजनका नवीनतम उत्पादनहरू प्रदर्शनीमा राखिनेछन् । नेपालका लागि हिकभिजनको आधिकारिक वितरक म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै हिकभिजनका प्रयोगकर्ता तथा सुरक्षा प्रविधिबारे जानकारी लिन चाहने सबैलाई नेपालीरिका होटल, विराटचोकमा आएर अवलोकन गर्न आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार एक्स्पोमा घरेलु तथा साना व्यवसायका सुरक्षा प्रणाली, एकीकृत ट्राफिक व्यवस्थापन, व्यावसायिक अडियो व्यवस्थापन, प्रदर्शनी तथा शैक्षिक संस्था व्यवस्थापन सम्बन्धी प्रविधि, अग्रिम जानकारी दिने अलार्म सुरक्षा प्रणाली, तार रहित घर सुरक्षा प्रविधि तथा नवीनतम उत्पादनहरू प्रदर्शन गरिनेछ । एक्स्पोमा विभिन्न प्रविधि र उत्पादनलाई समेटेर ८ वटा स्टल रहनेछन् । एक्स्पोको पूर्वसन्ध्यामा आज पछिल्लो समय देखिएका सुरक्षा चुनौतीलाई प्रविधिको प्रयोगमार्फत कसरी सहज र प्रभावकारी रूपमा समाधान गर्न सकिन्छ भन्ने विषयमा प्राविधिकहरूलाई प्रशिक्षण समेत दिइएको छ ।
कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको एक्स्पोको व्यवस्थापन एल्प नाइन टेक्नोलोजीज विराटनगर, प्यारागन आईटी सोलुसन इटहरी, आरएस कम्प्युटर दमक र तेजस्वी कम्प्युटर सपोर्ट बिर्तामोडले गरिरहेका छन् । एक्स्पोले व्यवसायिक तथा घरेलु सुरक्षा प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ । पछिल्लो पुस्ताका सुरक्षा प्रविधि, एआईमा आधारित सुरक्षा प्रणाली तथा स्मार्ट प्रविधिबारे प्रत्यक्ष जानकारी लिन एक्स्पो महत्वपूर्ण अवसर बन्ने बताइएको छ ।


