इटहरी।  झापामा अनलाइन सट्टेबाजीमा संलग्न दुई प्रतिवादीको खाताबाट ३५ करोडभन्दा बढीको कारोबार भएको पाइएको छ । 

बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचेको खाताबाट साढे २३ करोड र मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरीको खाताबाट करिब १२ करोडको कारोबार भएको प्रहरीको अनुसन्धानबाट फेला परेको छ । मेचेको २५ वटाभन्दा बढी खाता भेटिएको छ । दुई वर्षको अवधिमा मेचेको ती खाताबाट १८ हजार ५०७ पटक कारोबार भएको प्रहरी अनुसन्धानले देखाएको छ । मेचेको साथबाट तीन थान सिमसहितका मोबाइल बरामद गरिएको थियो । मोबाइलमा प्रयोग भएका सिमहरू उनकै नाममा दर्ता रहेको छ । बरामद भएका मोबाइल खोली हेर्दा आइडी नं. १३६०८९७ मा चार लाख ३९ हजार ९९५ रुपियाँ ब्यालेन्स देखिएको थियो । त्यस्तै दुई करोड ९४ लाखको ट्रान्जिट लिमिट उनको मोबाइलको एपबाट देखिएको छ । मुभ क्यास भन्ने एपबाट पाँच करोड ९४ लाख ६२ हजार १४० रुपियाँ जम्मा भएको र छ करोड ६३ लाख २० हजार ५४० रुपियाँ उक्त खाताबाट निकालेको देखिएको छ । मोबाइलमा मेचेकी दिदी कविता मेचे नामको इमेल आइडी प्रयोग गरी प्रतिवादीले चलाई युजर आइडीबाट रकम जम्मा गर्ने र निकाल्ने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छ जनाको बैङ्क खाता प्रयोग गरी उनले रकम झिक्ने र जम्मा गर्ने गरेको देखिएको छ । मिलन लिम्बू, आयुष अधिकारी र समीर लिम्बूको बैङ्क खाता मेचेले प्रयोग गरेको देखिन आएको प्रहरीले जनाएको छ । उनले अर्काको बैङ्क खाता हायर गरेर चलाएको पाइएको छ । प्रहरी अनुसन्धानको प्रतिवेदन अनुसार दुई वर्षको अवधिमा १८ हजार ५०७ पटक मेचेको खातामा कारोबार भएको देखिएको छ ।

मेचे र गिरी सुरुमा अनलाइन सट्टेबाजीको एजेन्ट रहेकामा पछि मर्चेन्ट बनेका थिए । मेचेले बयानमा अनलाइन जुवा खेल्दा पाँच प्रतिशत र दुई प्रतिशत नाफाबापत रकम प्राप्त हुने गरेको बताएका थिए । उनले अनलाइन जुवा तथा अभौतिक मुद्रा (व्रिmप्टो) को प्रयोग र कारोबार गरी घरजग्गामा लगानी गरेको दाबी गरिएको छ । मेचेलाई पुर्पुक्षका लागि झापा कारागार चलान गरिएको छ । थुनछेक बहसपछि झापा जिल्ला अदालतका न्यायाधीश नारायण रिमालको इजलासले सो आदेश दिएको हो । मेचेले अभौतिक नेटवर्कको प्रयोग गरी व्रिmफ्टोग्राफी माध्यमबाट सिर्जना गरिएका अवैध मुद्रा आफ्ना डिजिटल वालेटमा सञ्चय तथा कारोबार गरी आफू र आफ्नानिकट व्यक्तिको नाममा सम्पत्तिलाई वैध बनाउने उद्देश्यले घरजग्गा लगानी गर्ने गरेको पाइएको छ । कसुरमा बिगो मात्रै एक करोड पाँच लाख ३७ हजार ८३७ रुपियाँ कायम गरिएको छ । त्यस्तै विपिन गिरीको मोबाइलमा रहेको एपहरूमा लगइन भएका आइडी भेटिएको छ । जसमा विभिन्न आइडीमार्फत ५८ लाख ३५ हजार ६२८ रुपियाँ आर्जन गरेको देखिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । अवैध करोबार गरिरहेका दुवै जनाले देखावटी रूपमा आधिकारिक कम्पनी खोली आन्तरिक राजस्व कार्यालय भद्रपुरमा कर तिरिरहेको समेत पाइएको छ । विपिन गिरीले अनलाइन जुवा सट्टेबाजी कसुर अपराधमा संलग्न रही अवैध तरिकाले अकुत सम्पत्ति आर्जन गरी आफू तथा आफ्ना निकट व्यक्तिको बैङ्क तथा वित्तीय संस्थाका बैङ्क खाताहरूमा वैध बनाउने उद्देश्यले घर जग्गामा लगानी गर्ने गरेको पाइएको थियो । गिरीको सम्पत्ति शुद्धीकरणको कसुरमा निजउपर रकम निज प्रतिवादीले निरन्तर रूपमा अनलाइन जुवा तथा सट्टेबाजीको कारोबारमा संलग्न रही आर्जन गरेको ९४ लाख १८ हजार ८७४ रुपियाँ बराबरको बिगो कायम गरिएको छ । झापा जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको इजलासले गिरीलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यस मुद्दामा वादी नेपाल सरकारले उच्च अदालत इलाममा मुद्दा दायर गर्ने झापाका सहायक जिल्ला न्यायाधिवक्ता कृष्णप्रसाद रिमालले बताउनुभयो । 

तीन महिनाअघि गिरीलाई बिर्तामोड–५ स्थित गो ६९ क्याफे र मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिल्लीबाट नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिष लुइँटेलले तीन महिना लगाएर उक्त घटनाको अनुसन्धान गर्नुभएको थियो । झापामा अनलाइन जुवा खेलाउनेको सञ्जाल नै रहेको भए पनि अनलाइन जुवामा हारेको वा ठगीमा परेको भनेर कोही पनि नआएको बिर्तामोड प्रहरीले जनाएको छ ।