इटहरी : कोशी प्रदेशमा एलपी ग्यासको खपत अस्वाभाविक रूपमा बढेपछि केही जिल्लामा देखिएको अभाव एक साताभित्र सहज हुने नेपाल आयल निगमले जनाएको छ।
नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीका अनुसार पछिल्लो समय प्रदेशमा दैनिक १४ हजारभन्दा बढी सिलिन्डर ग्यास खपत भइरहेको छ। सामान्य अवस्थामा दैनिक करिब १० हजार सिलिन्डरको माग हुने गरे पनि पछिल्लो समय खपत उल्लेख्य रूपमा बढेको उनले बताए। विराटनगरमा मात्रै अहिले दैनिक करिब ४ हजार सिलिन्डर ग्यास वितरण भइरहेको कार्कीले जानकारी दिए। उनका अनुसार कोशी प्रदेशमा दैनिक १४ वटा ग्यास बुलेट भित्रिरहेका छन्। एउटा बुलेटमा १८ देखि २१ मेट्रिक टनसम्म ग्यास आउने र त्यसबाट करिब १ हजार २०० देखि १ हजार ४०० सिलिन्डर ग्यास उत्पादन हुने गरेको छ। रिजाल ग्यासको नियमित आपूर्ति हुन नसक्दा पनि केही क्षेत्रमा समस्या देखिएको कार्कीले बताए। कोशी प्रदेशबाट जनकपुरसम्म ग्यास पठाउनुपर्ने भएकाले मधेशको सिरहा, सप्तरी र कोशीको उदयपुर र धरान तथा पूर्वी पहाडी जिल्लाहरू भोजपुर, सङ्खुवासभा, पाँचथर र तेह्रथुमलगायतका जिल्लामा ग्यासको अझै चरम अभाव रहेको छ। माग र खपत बढे पनि आपूर्ति निरन्तर रहेकाले दीर्घकालीन अभावको अवस्था नरहेको निगमले जनाएको छ।
कार्कीले ग्यास अभाव हुने भन्दै आत्तिएर आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित नगर्न उपभोक्तालाई आग्रह गरेका छन्। आपूर्ति प्रणाली सामान्य रहेकाले एक साताभित्र बजारमा ग्यासको अवस्था सहज हुने अपेक्षा गरिएको उनले बताए। बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक रूपमा ठूलो परिमाणमा ग्यास भण्डारण गर्ने वा कालोबजारी गर्ने गतिविधि भए–नभएको विषयमा निगमले नियमित अनुगमन गरिरहेको जनाएको छ। अनुगमनका क्रममा कैफियत भेटिएमा कोशी ग्यास, कृष्ण स्टोरलगायतका व्यवसायीमाथि कारबाही गरिने कार्कीले बताए। नियमविपरीत ग्यास भण्डारण वा बिक्री गरेको पाइएमा ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरिने उनले जानकारी दिए। लामो समयसम्म ठूलो परिमाणमा ग्यास भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले व्यवसायीलाई आवश्यकताभन्दा बढी ग्यास स्टक नगर्न निगमले आग्रह गरेको छ। निगमका अनुसार अहिले देखिएको समस्या मुख्यतः बढेको खपत, केही आपूर्तिकर्ताबाट नियमित आपूर्ति नआउनु र विभिन्न जिल्लामा ग्यास पठाउनुपर्ने अवस्थाका कारण देखिएको हो।आपूर्ति बढाउँदै लगिएकाले उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चित नगरे बजारको अवस्था चाँडै सामान्य हुने निगमको भनाइ छ।


