इटहरी : वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमण बढ्दै गएको छ।
पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा जेई संक्रमितको संख्या १० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार संक्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जेई संक्रमण पुष्टि भएको छ। संक्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
संक्रमितमध्ये एक जना सात महिनाका बालक रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए।लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य निरीक्षक श्रेष्ठले सर्वसाधारणलाई आग्रह गरे।


