इटहरी। बिहानको झुल्केघामसँगै पाँचथरको सुकेपोखरीबाट टाढा हिमालको धर्सो देखियो । केही क्षणमै कुहिरोले हिमाललाई छोप्यो । एकैछिनमा खुलेको आकाश फेरि बादलले ढाकियो । कुहिरो र घामबीच चलिरहेको यो लुकामारीले सुकेपोखरी आसपासको दृश्यलाई झनै मनमोहक बनाइरहेको थियो ।
मनसुनमा सुकेपोखरीको सौन्दर्यको आफ्नै रङ छ । चारैतिर फैलिएको हरियाली, डाँडामाथि दौडिरहेका बादल, चिसो लेकाली हावा र ठाउँ–ठाउँमा फुलेका रङ्गीचङ्गी फूलले यहाँ पुग्ने जोकोहीलाई केहीबेर रोकिएर प्रकृति नियाल्न बाध्य बनाउँछन् । मेची राजमार्गअन्तर्गत पौवाभञ्ज्याङ बजारबाट नजिकै रहेको सुकेपोखरी पाँचथरको आकर्षक पर्यटकीय गन्तव्य हो । मौसम फेरिएसँगै यहाँको दृश्य पनि फेरिन्छ । मनसुनमा कुहिरो र हरियालीले ढाकिएको सुकेपोखरीमा केही हप्तापछि भने कञ्चनजङ्घा, कुम्भकर्णलगायतका हिमशृङ्खला खुलेर देखिन थाल्छन् । चैत–बैशाखमा यही क्षेत्र गुराँसले ढकमक्क हुन्छ । सुकेपोखरी र आसपासका फराकिला चौर अहिले हरिया छन् । साना–ठूला पोखरीमा आकाशको रङ देखिन्छ । डाँडाकाँडामा बादलको दौड र कुहिरोको ओहोरदोहोरले प्राकृतिक दृश्यलाई चित्रजस्तै बनाइदिएको छ । लेकाली क्षेत्र भएकाले यहाँको मौसम पनि चिसो र शीतल छ । प्रकृतिसँगै यहाँको ग्रामीण जीवन पनि उत्तिकै आकर्षक देखिन्छ । खेतबारीमा किसानहरू व्यस्त छन् । आलु खनेर खाली भएका बारीमा मुला रोप्ने चटारो छ । कृषि र पशुपालन स्थानीयको जीविकोपार्जनको अर्को महत्वपूर्ण आधार हो । विभिन्न प्रजातिका रुख, वनस्पति र मौसमी फूलले सुकेपोखरीको प्राकृतिक विविधता झल्काउँछन् ।
सुकेपोखरी पुग्ने पर्यटकले प्रकृतिको दृश्यसँगै स्थानीय परिकारको स्वादसमेत लिन पाउँछन् । आन्तरिक पर्यटकको संख्या बढेसँगै यहाँ होमस्टे तथा होटल खुल्ने क्रम पनि बढिरहेको स्थानीय अजय राई बताउँछन् । सुकेपोखरीसँगै लोहाकीललगायतका क्षेत्र पनि पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएका छन् । फाल्गुनन्द पदमार्गसमेत यही क्षेत्र हुँदै अघि बढ्ने भएकाले यसको पर्यटकीय सम्भावना थप फराकिलो रहेको स्थानीयको भनाइ छ । यो पदमार्ग कोशी प्रदेशको महत्वपूर्ण पर्यटन आयोजनाका रूपमा अघि बढाइएको छ । पछिल्लो समय सडकको पहुँचसमेत सहज बन्दै गएपछि मनसुनमा पनि सुकेपोखरी घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको स्थानीय बताउँछन् । हिमाल हेर्नकै लागि उपयुक्त मौसम कुर्नुपर्ने ठाउँ होइन सुकेपोखरी । कहिले कुहिरोले हिमाल छोप्छ, कहिले घामले डाँडालाई उज्यालो बनाउँछ । कहिले बादल डाँडामाथि दौडिन्छ, कहिले हरियालीबीच फूलहरू मुस्कुराउँछन् । मौसम फेरिएसँगै बदलिरहने यही दृश्य नै मनसुनमा सुकेपोखरीको विशेष आकर्षण बनेको छ ।


