इटहरी । रोटर्याक्ट क्लब अफ धरान घोपाको आयोजनामा पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, धरानमा दृष्टिविहीन विद्यार्थीहरूबीच गायन प्रतियोगिता सम्पन्न भएको छ।

‘क्षमता अवसरले चिनाउँछ, सीमाले होइन’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा विद्यालयका १२ जना दृष्टिविहीन विद्यार्थीहरूले उत्साहपूर्वक सहभागी भई आफ्नो गायन कला प्रस्तुत गरेका थिए । शनिबार दिउँसो २ः३० देखि ४ः३० बजेसम्म सञ्चालित प्रतियोगिताले ओझेलमा परेका प्रतिभाहरूलाई मञ्च प्रदान गर्दै उनीहरूमा आत्मविश्वास, सिर्जनशीलता र समावेशिताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ।

रोटर्याक्ट क्लब अफ धरान घोपाका जनसम्पर्क अधिकृत किरणजङ्ग विष्टका अनुसार संगीतका माध्यमबाट दृष्टिविहीन विद्यार्थीहरूको अन्तरनिहित क्षमता उजागर गर्ने र उनीहरूलाई प्रोत्साहन दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, रोटर्याक्टका प्रतिनिधि तथा अतिथि गरी करिब ७५ जनाको उपस्थिति रहेको थियो।

सहभागी विद्यार्थीहरूको उत्कृष्ट गायन प्रस्तुति र उपस्थित दर्शकहरूको निरन्तर हौसलाले कार्यक्रमलाई भव्य, अर्थपूर्ण र स्मरणीय बनाएको थियो। विद्यालय परिवार र आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वांगीण विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।