इटहरी । नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन नेल्टा कोशी प्रदेशको अध्यक्षमा रविन्द्र बराल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
मोरङको सुन्दरहरैँचा स्थित गोदावरी रिसोर्टमा आयोजित पाँचौँ नेल्टा कोशी प्रोभिन्स लिडरसिप सिम्पोजियम (नेतृत्व सम्मेलन) का क्रममा बरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । बराल यसअघि नेल्टा कोशी प्रदेशको महासचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश सिंह, उपाध्यक्षमा राजेन्द्र बराल, महासचिवमा केशव उप्रेती, सचिवमा नारायण सुवेदी, सदस्य सचिवमा रुद्रबहादुर थापा र कोषाध्यक्षमा कमलराज दाहाल चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा मुना बजगाईँ, सन्तबहादुर तामाङ, पुरुषोत्तम सापकोटा, ईश्वरकुमार लम्साल, गोविन्द खनाल, साजन चौधरी, इन्द्रबहादुर चौहान, प्रकाश पराजुली, तीर्थमान राई, हरिचन्द्र लावती, हरिप्रसाद पौडेल, जीवन भट्टराई, गोपाल बस्नेत र खगेश्वर घिमिरे चयन हुनुभएको छ । नयाँ कार्यसमिति २१ सदस्यीय रहेको छ । नयाँ नेतृत्व चयनसँगै अघिल्लो कार्यसमितिले अघि बढाएका महत्वपूर्ण काम तथा उपलब्धिलाई निरन्तरता दिँदै नेल्टा कोशी प्रदेशका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । अघिल्लो कार्यसमितिले अंग्रेजी भाषा शिक्षकहरूको पेशागत विकास, क्षमता अभिवृद्धि, तालिम, कार्यशाला तथा विभिन्न शैक्षिक गतिविधि मार्फत संगठनलाई सक्रिय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
अध्यक्ष बरालले नेल्टाका गतिविधिलाई प्रदेशका सबै जिल्ला सम्म विस्तार गर्दै शिक्षक, विद्यालय तथा विद्यार्थीको शैक्षिक सुधारमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले कोशी प्रदेशका अंग्रेजी भाषा शिक्षकहरूलाई एकताबद्ध गर्दै उनीहरूको पेशागत विकास, क्षमता अभिवृद्धि तथा अनुभव आदान–प्रदानका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । नवनिर्वाचित कार्यसमितिले अंग्रेजी भाषा शिक्षणका क्षेत्रमा देखिएका चुनौती पहिचान गरी तालिम, कार्यशाला, अनुसन्धान तथा विभिन्न शैक्षिक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।
नयाँ नेतृत्वले अघिल्लो कार्यसमितिको अनुभव र उपलब्धिलाई आत्मसात् गर्दै संगठनलाई थप बलियो र प्रभावकारी बनाउने लक्ष्य लिएको छ । नयाँ कार्यसमिति चयनसँगै कोशी प्रदेशमा अंग्रेजी भाषा शिक्षकहरूको पेशागत संगठनलाई थप सक्रिय बनाउँदै अंग्रेजी भाषा शिक्षणको गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।


