इटहरी। स्रोत सुनिश्चित नभईकन ठुलो योजना सुरु गर्दा मोरङको बेलबारी–२, रमितेडाँडामा निर्माणाधीन भ्यु टावर चार वर्षदेखि अलपत्र भएको छ । 

तीन आर्थिक वर्षमा सङ्घीय र कोशी प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ६० लाख रुपियाँ खर्च भइसके पनि भ्यु टावरले पूर्णता पाएको छैन । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ मा ‘रमिते पर्यटन क्षेत्र’ विकास गर्ने गुरुयोजना निर्माण गरी आव २०७४/७५ मा ६० लाख रुपियाँ विनियोजन गर्नुभएको थियो । सोही बजेटबाट भ्यु टावरको जग निर्माण गरिएको रमिते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खगेन्द्रप्रसाद ओझाले बताउनुभयो । त्यसपछि सङ्घीय सरकार र कोशी प्रदेश सरकारबाट भ्यु टावर निर्माणका लागि थप ५०/५० लाख रुपियाँ विनियोजन भयो । जग निर्माणपछि तीन तलासम्मको काम भयो । प्रवेशद्वार निर्माण गर्न बेलबारी नगरपालिकाले छुट्टै बजेट दियो । हालसम्म सङ्घ, प्रदेश र स्थानीय सरकारको झन्डै दुई करोड रुपियाँ खर्च भइसकेको छ तर २०७८ सालपछि थप बजेट प्राप्त नहुँदा भ्यु टावरको निर्माणाधीन संरचना खण्डहर होला कि भन्ने स्थानीय उपभोक्ताको चिन्ता छ । 

चिहानडाँडामा भ्यु टावर बनाउने र सामुदायिक वनको आन्तरिक आम्दानी बढाउन पाँच हेक्टर क्षेत्रफलमा फैलिएको चिहानघारीमा सौन्दर्य भरेर रमितेडाँडा बनाइयो । पर्यटन पूर्वाधारको महìवपूर्ण संरचनाका रूपमा अघि बढाइएको भ्यु टावर बजेट अभावले अलपत्र बनेको छ । सामुदायिक वन व्यवस्थापक गङ्गा न्यौपानेका अनुसार रमिते पर्यटन क्षेत्रको गुरुयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) १२ करोड रुपियाँको बनेको थियो । तीन सय मिटर सुरुङ मार्ग हुँदै भ्युटावरको भुइँ तला पुग्ने र टावर चढ्ने गरी छ तलाको भ्यु टावरको डिजाइन गरिएको सामुदायिक वनका अध्यक्ष खगेन्द्रप्रसाद ओझाले बताउनुभयो । २०७८ सालमा विनियोजन भएको बजेट सरकार परिवर्तनसँगै रोकिएपछि थप काम हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कोशी प्रदेश भ्रमणका क्रममा उक्त क्षेत्रको अवलोकन गर्दै सहयोग गर्ने बताउनुभएको थियो । व्यवस्थापक न्यौपानेले मन्त्रीसँग सौन्दर्यकरणसँगै अपुरो भ्यु टावरलाई पूरा गर्न बजेट माग गरिएको बताउनुभयो ।स्थानीय तह र सामुदायिक वनको सीमित स्रोतले अधुरा आयोजना पूरा गर्न नसकिएको भन्दै सामुदायिक वनले सङ्घ र प्रदेश सरकारसँग पटक पटक बजेटको सुनिश्चितता गरिदिन आग्रह गरे पनि बजेट सुनिश्चित नभएको अध्यक्ष ओझाको भनाइ छ । करिब एक दशकअघि पर्यटकीय क्षेत्र विकास गर्ने उद्देश्यले अघि बढाइएको योजना अझैसम्म अधुरो रहँदा राज्यको ठुलो लगानी खण्डहरमा परिणत भइरहेको स्थानीय केदारनाथ दुलालले बताउनुभयो ।