इटहरी। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयमा पहिलो पटक ‘सिक्दै कमाउँदै’ कार्यक्रम सुरु गरिएको छ । कोशी प्रदेश सरकारबाट विनियोजित बजेटमार्फत कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सहयोग र समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न जातका मौसमी तरकारी खेती गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक विनोदसिंह तामाङका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत प्राविधिक धार (कृषि) का विद्यार्थी यस कार्यक्रममा सहभागी भएका छन् । यस कार्यक्रमबाट विद्यार्थीको व्यावहारिक सीप अभिवृद्धि हुनुका साथै आर्थिक रूपमा समेत लाभान्वित हुने उहाँले बताउनुभयो । २०७० सालदेखि कृषि धारको पठनपाठन हुँदै आएको विद्यालयमा संघीय सरकारबाट हालसम्म यस्तो कार्यक्रम उपलब्ध हुन नसकेको अवस्थामा प्रदेश सरकारमार्फत अनुदान तथा प्राविधिक सहयोग प्राप्त भएकोमा कृषि ज्ञान केन्द्रप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत २०७८ सालदेखि राष्ट्रिय रूपमा सञ्चालन हुँदै आएको ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि धेरै प्रयास गर्दा पनि विद्यालयले हालसम्म अवसर नपाएको उहाँको गुनासो थियो । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका कार्यालय प्रमुख दुर्गाबहादुर तिरुवाका अनुसार शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्दै भविष्यमा उद्यमी, व्यावसायिक, सीपयुक्त तथा स्वावलम्बी नागरिक उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । सोलुदुधकुण्ड नगरपालिकाका शिक्षा शाखा प्रमुख रोजिना पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोचको विकास गरी आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउनुभयो । साथै पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्दै अध्ययनलाई निरन्तरता दिनसमेत सहयोग पुग्ने उहाँको भनाइ छ ।

विद्यार्थीहरूले पनि ‘सिक्दै कमाउँदै’ कार्यक्रमबाट आर्थिक रूपमा फाइदा पुग्ने अपेक्षा गरेका छन् । अध्ययनबाहेकको समयमा आयआर्जनका गतिविधिमा सहभागी भई कापी, कलम, जुत्ता, पोसाकलगायत शैक्षिक सामग्रीको व्यवस्था गर्न सहज हुने उनीहरूको विश्वास छ । संघीय सरकारबाट भने विगत केही वर्षदेखि कृषि (बाली विज्ञान, पशु विज्ञान र बागवानी), इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल र कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल तथा व्यावसायिक सीप (मौरीपालन, च्याउ खेती र रेशम खेती) लगायतका क्षेत्रमा देशभरका विभिन्न विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।