इटहरी : विराटनगर महानगरपालिका–८ स्थित मोरङ कारागारमा सोमबार बिहानदेखि गरिएको खानतलासीपछि कैदीबन्दीले प्रदर्शन र नाराबाजी गरेका छन्।
कारागारभित्र रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएको जानकारी पाएपछि ‘बी’ ब्लकका कैदीबन्दी आन्दोलनमा उत्रिएका हुन्। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा बिहान ४ः३० बजेदेखि कारागारमा खानतलासी सुरु गरिएको थियो। लागूऔषधलगायत अवैध वस्तु कारागारभित्र राखिएको सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको प्रहरीले जनाएको छ। एसपी कटवालले भने खानतलासीलाई नियमित प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। ‘कारागारमा बेला–बेला खानतलासी र सर्च गर्ने गरिएको छ। अहिले त्यसैलाई निरन्तरता दिइएको हो,’ उनले भने। खानतलासीका क्रममा सोमबार बिहानसम्म कुनै अवैध वस्तु फेला परेको जानकारी प्रहरीले दिएको छैन। खानतलासीसँगै कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारीसमेत गरिएको थियो। सुरक्षा स्रोतका अनुसार आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट रहेका १५ जनाभन्दा बढी कैदीबन्दीलाई अन्य कारागारमा सार्ने तयारी गरिएको थियो। त्यसको विरोधमा ‘बी’ ब्लकका कैदीबन्दीले कारागारभित्रै प्रदर्शन गरेका हुन्। उनीहरूले भित्र आगोसमेत बालेर विरोध जनाएका थिए। दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ। आन्दोलनमा उत्रिएका कैदीबन्दीले ‘बी’ ब्लकभित्र सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छैनन्। उनीहरूले भित्रबाट तालाबन्दी गरेर नाराबाजी गरिरहेका छन्। सुरक्षा स्रोतका अनुसार गिरीलाई सहयोग गर्दै आएका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी रोकिएको छैन। आवश्यक परे बल प्रयोग गरेरै भए पनि ‘बी’ ब्लकभित्र प्रवेश गरी उनीहरूलाई स्थानान्तरण गर्ने तयारीमा सुरक्षा निकाय रहेको स्रोतले जनाएको छ।
मोरङ कारागारका कैदीबन्दीले लत्ताकपडाबापत पाउँदै आएको सरकारी भत्ता कब्जा गरेको आरोपमा गिरीलाई यसअघि असार १३ गते पक्राउ गरिएको थियो। आपराधिक विश्वासघात र ठगीसम्बन्धी मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा जिल्ला प्रहरी कार्यालय मोरङले छुट्टाछुट्टै अनुसन्धान गरेका थिए। जाहेरवालासँग सहमति भएपछि आपराधिक विश्वासघात र ठगीसम्बन्धी मुद्दामा गिरी छुटिसकेका छन्। तर, कारागारसँग जोडिएको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गिरीले कारागारभित्र रहेका कैदीबन्दीको सहयोगमा आफ्नो पहुँच विस्तार गर्ने गरेको खुलेको सुरक्षा स्रोतको दाबी छ।यही आधारमा उनीसँग निकट रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्न खोजिएको स्रोतले जनाएको छ। खानतलासी र स्थानान्तरणको विषयलाई लिएर उत्पन्न तनावका कारण सोमबार बिहानसम्म मोरङ कारागारको ‘बी’ ब्लकमा स्थिति तनावपूर्ण रहेको छ।


