इटहरी : झापाको बाह्रदशी गाउँपालिकाबाट १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित आइतवार तीनजना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका–३ मा ब्राउन सुगर खरिद–बिक्री भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ का २० वर्षीय प्रकाश हरिजन, बाह्रदशी गाउँपालिका–३ का २१ वर्षीय मनिस राजवंशी र सोही स्थानका २३ वर्षीय फागुलाल राजवंशी रहेका छन् । प्रहरीका अनुसार उनीहरूलाई ब्राउन सुगर खरिद–बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउपछि उनीहरूको साथबाट १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै, प्रहरीले लागूऔषधको तौल गर्न प्रयोग हुने एक थान डिजिटल तराजु र दुई थान मोबाइलसमेत बरामद गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


