इटहरी। नागपञ्चमीको अवसरमा धनकुटाको हिलेस्थित धार्मिक तथा पर्यटकीयस्थल बक्रकुण्ड मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
धनकुटासहित तेह्रथुम भोजपुरलगायत विभिन्न जिल्लाका ८ हजारभन्दा बढी भक्तजनले बक्रकुण्ड मन्दिर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । नागपञ्चमीको दिन यो मन्दिरमा विशेष मेला र पूजाआजा हुनेगर्छ । नागदेवताको बसोबास रहेको विश्वास गरिने यो मन्दिरमा आजको दिन पूजाआजा र दर्शन गरेमा सुख शान्ति प्राप्त हुने विश्वास रहिआएको स्थानीय कृष्ण घिमिरेले जानकारी दिनुभयो । मन्दिरमा नाग बाहेक एकसय ८ देवी देवताको वास रहेको विश्वास गरिन्छ । सो क्षेत्रका पत्थरमा नागसहित विभिन्न आकृति देख्न सकिन्छ । त्यस्तै, बक्रकुण्ड मन्दिरमा आज विशेष पूजाआजा र कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वाले जानकारी दिनुभयो ।
मन्दिरको १६ औ स्थापना दिवस तथा नागपञ्चमीको अवसरमा विशेष पूजाआजा गरिएको छ । वि.सं २०६७ सालमा नागपञ्चमीकै दिन सो स्थानका पत्थरमा नाग देवता देखिएपछि मन्दिर स्थापना गरिएको थियो । नागपञ्चमी बाहेक शिवरात्रिमा यो मन्दिरमा विशेष पूजाआजा हुनेगरेको छ । कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले बक्रकुण्ड मन्दिरले हिलेको धार्मिक मात्र नभइ पर्यटकीय गन्तब्यको रुपमा रहेको बताउँदै नगरपालिकाले यो क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।


