इटहरी : काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका दुई मोटरसाइकल झापाको बुद्धशान्तिमा फेला परेका छन् । इलाका प्रहरी कार्यालय बुधबारेको सक्रियतामा फेला परेका मोटरसाइकलमध्ये एक सम्बन्धित धनीलाई बुझाइएको छ भने अर्काे मोटरसाइकल नक्कली नम्बर प्लेट प्रयोग गरी चलाउने दुई जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।
इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज चन्द्र राउतको कमान्डमा खटिएको प्रहरी टोलीले केही दिनअघि बुद्धशान्तिका विभिन्न स्थानबाट दुवै मोटरसाइकल नियन्त्रणमा लिएको हो । काठमाडौंको थलीबाट करिब चार महिनाअघि चोरी भएको बागमती प्रदेश ०२–०३–०४६ प ४५४६ नम्बरको बुलेट मोटरसाइकल बुद्धशान्ति–३ स्थित पेट्रोल पम्प पश्चिमबाट फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकल चलाइरहेका बुद्धशान्ति–२ का बचन खनाललाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा चारआलीका एक व्यक्तिसँग मिलेर मोटरसाइकल खरिद गरेको खुलेको थियो । घटनामा संलग्न दुवै जनालाई मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं पठाइएको प्रहरीको भनाइ छ ।
यसैगरी काठमाडौंको बानेश्वरबाट चोरी भएको तेह्रथुम आठराईका रामकुमार सुनारको बा ५–०२–०३६ प ११४४ नम्बरको पल्सर एनएस २२० सीसी मोटरसाइकल बुद्धशान्तिमा बेवारिसे अवस्थामा फेला परेको थियो । चोरहरूले नक्कली नम्बर प्लेट प्रयोग गरी चलाउँदै आएको उक्त मोटरसाइकलको चेसिस र इन्जिन नम्बर जाँच गर्दा काठमाडौंमा चोरीसम्बन्धी मुद्दा दर्ता भएको पुष्टि भएको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी मोटरसाइकल धनी सुनारलाई नै बुझाइएको इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज राउतले जानकारी दिए । चोरी भएका सवारीसाधन खोजी तथा नियन्त्रणमा सक्रियता बढाएपछि पछिल्लो समय झापाका विभिन्न क्षेत्रमा चोरीका सवारीसाधन फेला पर्ने क्रम बढेको प्रहरीले जनाएको छ ।


