इटहरी : पाँचथरको हिलिहाङ गाउँपालिकाले अपाङ्गता भएका ३० जना नागरिकलाई विभिन्न प्रकारका सहायक सामग्री वितरण गरेको छ।
गाउँपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सोमबार सेवाग्राहीलाई उनीहरूको आवश्यकता र अवस्थाका आधारमा सहायक सामग्री वितरण गरेको हो। गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीको उपस्थितिमा सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेका अनुसार तीन थान ह्विलचेयर, एक थान सेतो लठ्ठी, नौ थान ट्वाइलेट चियर, दुई थान ब्याक सपोर्ट बेल्ट, छ थान हियरिङ एड र १५ थान हिँड्ने छडी वितरण गरिएको छ।
सहायक सामग्री वितरण गर्दै अध्यक्ष अधिकारीले सामग्रीले अपाङ्गता भएका नागरिकको दैनिक जीवनयापन सहज बनाउने विश्वास व्यक्त गरे। सेवाग्राहीको आवश्यकता पहिचान गरी उपलब्ध गराइएका सामग्रीले आवतजावत तथा दैनिक कामकाजमा सहयोग पुग्ने उनले बताए। सहायक सामग्री पाएपछि सेवाग्राहीले खुसी व्यक्त गर्दै दैनिक काम गर्न तथा आवतजावतमा सहज हुने बताएका छन्।स्वास्थ्य शाखा प्रमुख घिमिरेले अपाङ्गता भएका नागरिकको आवश्यकता र अवस्थाको पहिचान गरी सहायक सामग्री उपलब्ध गराइएको जानकारी दिए।


