इटहरी। सोलुखुम्बुको सोलुदुधकुण्ड नागरपालिका–७ को गार्मा माध्यमिक विद्यालयमा ‘सिक्दै कमाउँदै कार्यक्रम’ सुरु भएको छ । कोशी प्रदेश सरकारको विनियोजित बजेटमार्फत कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सहयोग र समन्वयमा सुरु भएको कार्यक्रममा विभिन्न जातका मौसमी तरकारी खेती लगाइएको छ ।
कक्षा ११ र १२ मा अध्ययन गरिरहेका प्राविधिक धार कृषितर्फका विद्यार्थी यस कार्यक्रममा सहभागी भएका विद्यालयका प्रधानाध्यापक विनोदसिङ तामाङले जानकारी दिनुभयो । कार्यक्रमबाट प्राविधिक धारतर्फका विद्यार्थीको सिप अभिवृद्धि हुनका साथै आर्थिक रूपमा समेत लाभान्वित हुने उहाँले बताउनुभयो । २०७० सालबाट कृषि धारको पठनपाठन भइरहेको विद्यालयमा केन्द्र सरकारले हालसम्म कार्यक्रम उपलब्ध नगराएको भन्दै प्रदेश सरकारमार्फत अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा कृषि ज्ञान केन्द्र सोलुखुम्बुप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २०७८ सालबाट राष्ट्रिय रूपमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रम धेरै प्रयास गर्दा पनि यस विद्यालयमा हालसम्म उपलब्ध हुन नसकेको उहाँको गुनासो थियो ।
शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक, सिपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित कार्यव्रmम सुरु गरिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका कार्यालय प्रमुख दुर्गाबहादुर तिरुवाले बताउनुभयो । यस्ता कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सिप तथा व्यावसायिक साँच विकास गरी आत्मनिर्भर हुनेतर्फ आकर्षित गर्न र पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षाको सुनिश्चत गर्दै पढाइलाई निरन्तरता दिन सहयोग गर्ने सोलुदुधकुण्ड नगरपालिकाका शिक्षा शाखा प्रमुख रोजिना पौडेलले बताउनुभयो । सिक्दै कमाउँदै कार्यक्रमले अध्ययनबाहेक बचेको समयमा आयआर्जनका काम गरेर शैक्षिक सामग्री व्यवस्था गर्न सहज हुने विद्यार्थीको अपेक्षा छ । केन्द्र सरकारले कृषि (बाली विज्ञान, पशु विज्ञान र बागवानी), इन्जिनियरिङ (सिभिल–इलेक्ट्रिकल–कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरीपालन, च्याउ र रेसम खेती) लगायतका क्षेत्रमा देशभरका विभिन्न विद्यालयमा कार्यव्रmम सञ्चालन भइरहेको छ ।


