इटहरी :  श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य राजेश खिम्दुङविरुद्ध सोही पार्टीकी धरान उपमहानगर कमिटी सहसचिव शुक्रकुमारी राईले शारीरिक शोषण, धाकधम्की र मानसिक तनाव दिएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन्।

राईले मंगलबार इलाका प्रहरी कार्यालय धरानमा दिएको ठाडो उजुरीमा खिम्दुङले गालीगलौज गर्ने, धम्की दिने, शारीरिक शोषण गर्ने तथा मानसिक तनाव दिने गरेको आरोप लगाएकी छन्। उनले खिम्दुङलाई प्रहरी कार्यालयमा बोलाएर आवश्यक छलफल गराउन माग गरेकी छन्। उजुरी सार्वजनिक भएपछि पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले खिम्दुङलाई केन्द्रीय सदस्यको जिम्मेवारीबाट निलम्बन गरेका छन्। अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत सत्यतथ्य बाहिर नआएसम्म र विषय टुंगो नलाग्दासम्म निलम्बन गरिएको जानकारी दिएका हुन्। राई र खिम्दुङ प्रतिनिधिसभा निर्वाचनअघि गत फागुन २१ गते श्रम संस्कृति पार्टीमा सँगै आबद्ध भएका थिए। त्यसअघि उनीहरू सामाजिक अभियन्ताका रूपमा नजिक रहेको बताइएको छ। सहकारी पीडितको रकम फिर्तालगायतका माग राखेर खिम्दुङको नेतृत्वमा धरानको भानुचोकमा भएको लामो आन्दोलनमा राई पनि सहभागी भएकी थिइन्।

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा खिम्दुङ उदयपुरबाट उम्मेदवारसमेत बनेका थिए। निर्वाचनपछि भने उनीहरूबीच सम्बन्धमा दरार आएको र राईले सामाजिक सञ्जालमार्फत खिम्दुङप्रति असन्तुष्टि जनाउँदै विभिन्न सामग्री सार्वजनिक गर्दै आएको बताइएको छ। यसअघि पनि उनीहरूबीच विवाद भएपछि प्रहरी कार्यालयसम्म विषय पुगेको बताइएको छ। दुवै जना विवाहित रहेको जनाइएको छ। आरोपबारे खिम्दुङले भने आफूलाई राजनीतिक रूपमा कमजोर बनाउन र श्रम संस्कृति पार्टीलाई बदनाम गर्ने उद्देश्यले षड्यन्त्र गरिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले राईलाई अरूले उक्साएर प्रयोग गरिरहेको आरोप लगाएका छन्। खिम्दुङले राईले यसअघि पनि आफूविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री लेख्ने तथा बोल्ने गरेको भन्दै प्रहरीमा उजुरी दिएको र पछि मिलापत्र भएको बताएका छन्। आफूलाई लामो समयदेखि ब्ल्याकमेल गर्ने, फोन गर्ने तथा टिकटक र फेसबुकमार्फत बदनाम गर्ने प्रयास भइरहेको दाबीसमेत उनले गरेका छन्। प्रहरीले उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ। उजुरीमा लगाइएका आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।