इटहरी : बाक्सिलास्थित सिम्पानीमा तीन वर्षभित्र निर्माण सक्ने भनिएको विद्युत् सबस्टेसनको निर्माण एक दशकसम्म पन अपुरै रहेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने भन्दै भारतीय कम्पनीले २०७३ भदौमा निर्माणको जिम्मा लिएको थियो ।

सबस्टेनसका लागि लागि आवश्यक विद्युतीय उपकरण ल्याइए पनि निर्माण भने अपुरै रहेको हो । सबस्टेसन निर्माणस्थलमा कतिपय संरचनाको पिलर मात्र ठड्याएर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको स्थानीय बासिन्दा माइतीराज राईले बताए । ठेकेदार कम्पनीले बुइपा–बाक्सिला ३३ केभी र ११ केभी प्रशारणलाईनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सबस्टेसन निर्माणको काम गरेको छैन ।सबस्टेसनको बाँकी काम पूरा गराउन पटकपटक विद्युत् प्राधिकरण पुग्दा पनि सुनुवाइ नभएको केपिलासगढी गाउँपालिकाका प्रमुख समीर राईले बताए । केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै बाक्सिलामा सबस्टेसन निर्माणको काम थालिएको थियो ।

 बाँकी काम सम्पन्न हुँदासम्ममा सबस्टेसन निर्माण योजनाको कूल खर्च करिब रु ११ करोड पुग्ने प्राधिकरणले जनाएको छ । पटकपटक पेटी ठेकेदार परिवर्तन हुँदा केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा निर्माणाधीन सबस्टेसन निर्माणको कामले गति लिन सकेको छैन । हाल, विकल्पहरूको खोजी भइरहेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख धनराज विष्टले जानकारी दिए। उत्तरी क्षेत्रका दुई स्थानीय तहमा बुइपा सबस्टेसनबाट विद्युत् वितरण गरिएको छ । लामो दूरी भएकाले त्यहाँ पटकपटक विद्युत् अवरुद्ध हुने गरेको छ । बुइपा सबस्टेसनबाट उत्तरी क्षेत्रमा सिधै वितरण गरिएको विद्युत् पानी पर्दा, हावा चल्दा तथा चट्याङ पर्दा लामो समयसम्म अवरुद्ध हुने गरेको उपभोक्ताहरूले बताउँदै आएका छन् । यो वर्ष काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तोडेर अर्को ठेक्कामार्फत भए पनि सबस्टेसन सञ्चालन गर्ने योजनामा प्राधिकरण छ । सम्झौता म्यादभित्र सबस्टेसनलगायत भौतिक संरचना निर्माणको काम नसकिएपछि प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा भेरिएसन गर्दै पटकपटक म्याद थप भएको पाइएको छ । ठेकेदार कम्पनीले प्राधिकरणसँग सबस्टेसनका लागि म्याद थप गरेपछि पुनः सम्पर्कविहीन हुने गरेको स्थानीहरू बताउँछन् ।