इटहरी : झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित एक होटलबाट प्रहरीले ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। मेची आँखा अस्पतालनजिक रहेको उमानन्द होटल एण्ड लजमा प्रहरीले विशेष सूचनाका आधारमा छापा मार्दा भारत बिहारको सुपौल जिल्ला भीमपुर बालुवाबजारका मोहमद तोहिद पक्राउ परेका हुन्।
प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक नरबहादुर गौतमको नेतृत्वमा खटिएको टोलीले मंगालवार १ः४५ बजे होटलमा जाँच गरेको थियो। त्यसक्रममा तोहिदको साथबाट ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। यसैगरी, मोरङको सुन्दरहरैचा नगरपालिका–१ बाट प्रहरीले गाँजासहित ४९ वर्षीय सुन्दरलाल चौधरीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारी र हरैचाबाट खटिएको प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा ३ किलो ७६० ग्राम गाँजा र नगद २ लाख ७१ हजार रुपैयाँ बरामद गरेको हो। पक्राउ परेका दुवैजनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


