इटहरी। सुनसरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य लालबिक्रम थापाले देवानगञ्ज गोलीकाण्डसँग जोडेर आफूलाई कारबाही सिफारिस गरिएको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाएका छन्।

आधिकारिक प्रतिवेदन सार्वजनिक नभइसकेको अवस्थामा आफ्नो नाम जोडेर भ्रमपूर्ण प्रचार गरिएको थापाको दाबी छ। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले आफू अपराधी नभएको र घटनामा संलग्न दोषीलाई कानुनी कठघरामा उभ्याउन आफू लागिपरेको बताएका छन्। 'आमा ! म अपराधी होइन । अपराधीलाई कानूनको कठघरामा उभ्याउने तपाईंको बहादुर छोरो हुँ,' उनले लेखेका छन्। थापाले आफूविरुद्ध भइरहेको प्रचारलाई झुटो, आधारहीन र योजनाबद्ध भन्दै सुनसरी–४ का सांसद दीपक शाह र उनको सचिवालयसँग सम्बद्ध केही कर्मचारीले सरकारी प्रतिवेदनको नाम दुरुपयोग गरी आफ्नो नाम जोडेर भ्रमपूर्ण प्रचार गरेको आरोप लगाएका छन्। सरकारी प्रतिवेदनका रूपमा प्रचार गरिएको सामग्री आधिकारिक नभई आफैं चार पाना तयार पारेर सार्वजनिक गरिएको उनको दाबी छ। 'सुनसरी क्षेत्र नं. ४ का सांसद दीपक शाह र उहाँको सचिवालयसँग सम्बद्ध केही कर्मचारीहरू मिलेर सरकारी प्रतिवेदनको नाम दुरुपयोग गर्दै आफैं चार पाना लेखेर मेरो नाम जोडेर भ्रमपूर्ण प्रचार गराउनु अत्यन्तै गम्भीर र निन्दनीय विषय हो,' थापाले भनेका छन्। आफूविरुद्ध समाचार प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सत्य र तथ्यको खोजी गरी समाचार सम्प्रेषण गर्न तथा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायसँग तथ्य पुष्टि गर्न उनले आग्रह गरेका छन्।

 आफूमाथि विगतमा पनि पटक–पटक यस्ता आरोप तथा प्रचार हुने गरेको भन्दै थापाले यस्ता गतिविधिले सर्वसाधारणमा भ्रम सिर्जना गर्न सक्ने भएकाले संवेदनशील हुन आग्रह गरेका छन्। एकातिर उनले आफूविरुद्ध झुटा तथा भ्रामक सूचना उत्पादन र प्रचारमा संलग्न व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएका छन्। 'सत्यलाई केही समय भ्रमले ढाक्न सकिएला, पराजित गर्न सकिँदैन । कानूनको कठघरामा सत्य र असत्यबीचको फैसला अवश्य हुनेछ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।देवानगञ्ज गोलीकाण्डपछि घटनाको अनुसन्धान, दोषीमाथि कारबाही तथा घटनामा संलग्न व्यक्तिहरूको भूमिकाबारे विभिन्न दाबी सार्वजनिक भइरहेका छन्। यहीबीच सांसद थापाले आफूलाई घटनासँग जोडेर भइरहेको प्रचार तथ्यहीन रहेको दाबी गर्दै कानुनी प्रक्रियामार्फत त्यसको प्रतिवाद गर्ने बताएका हुन्।