इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका जिल्लाका पर्यटकीय स्थलबाट सार्वजनिक गरिएको छ।
आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिताबाट पर्यटन प्रवर्धनका लागि ताप्लेजुङको पर्यटकीय क्षेत्रमार्फत खेल तालिका सार्वजनिक गरिएको हो। लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फकताङलुङ गाउँपालिकाको ५ हजार ३ सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७ सय मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित आठसय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एकसाथ खेल तालिका सार्वजनिक गरिएको हो।
सार्वजनिक गरिएको तालिका अनुसार उद्घाटन खेलमा आयोजक ताप्लेजुङ ११ र जर्जियन युनाइटेड फुटबल क्लब भारतबिच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै भदौ १३ गतेको हुने क्वार्टरफाइनलको दोस्रो खेलमा चित्लाङ फुटबल क्लब र फिदिम स्पोर्टिङ क्लब मैदान उत्रने भएका छन्। तालिका अनुसार भदौ १४ गते हुने तेस्रो खेलमा सातदोबाटे फुटबल क्लब र गत वर्षको विजेता सलहेश युवा क्लबबिच आमने–सामने हुने भएको छ । यस्तै, क्वाटर फाइनल चरणको अन्तिम खेलमा झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबिच भिडन्त हुनेछ । सेमिफाइनल चरणका खेलहरू भदौ १६ र १७ गते तथा फाइनल खेल भदौ १९ गते हुनेछ।
गत वर्षको गोल्डकपको खेल तालिका प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरबाट सार्वजनिक गरिएको थियो । यस वर्ष थप पर्यटन प्रवर्धन गर्ने उद्देश्यसाथ विभिन्न पर्यटकीय क्षेत्रमार्फत सार्वजनिक गरिएको समितिले जनाएको छ । विभिन्न नयाँ ठाउँका खेलाडीलाई पर्यटकीय क्षेत्रमा भ्रमण गराउने समेत समितिको योजना रहेको अध्यक्ष मादेनको भनाइ छ। समितिले क्वाटरफाइनल चरणको चारवटा खेलका लागि नगद दुईसय रुपियाँ, सेमिफाइनल चरणका लागि तीनसय र फाइनलका लागि पाँचसय रुपियाँ टिकट दर निर्धारण गरेको छ।
यस वर्षको प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपियाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको समितिले जनाएको छ।


