इटहरी । धनकुटाको हिले र पाख्रीबास बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि ग्यास डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले संयुक्त रूपमा अनुगमन गरेका हुन्।
अनुगमन टोलीले हिले र पाख्रीबास बजारका करिब आधा दर्जन ग्यास डिलर तथा बिक्री केन्द्रको निरीक्षण गरेको थियो। धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेका अनुसार बजारमा ग्यास बढी मूल्यमा बिक्री भइरहेको गुनासो बढेपछि अनुगमनलाई तीव्रता दिइएको हो। उहाँले बजारमा ग्यासको अभाव भएपछि कालोबजारी हुन सक्ने सम्भावना रहेकाले उपभोक्ता ठगिनबाट जोगाउन अनुगमन गरिएको बताउनुभयो। अनुगमनका क्रममा कतिपय डिलरमा ग्यासको आपूर्ति कम रहेको र कम्पनीले आवश्यकताअनुसार ग्यास नपठाउँदा समस्या भएको पाइएको छ।
अनुगमन टोलीले सेवाग्राहीलाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर नदिन पनि डिलरलाई आग्रह गरेको छ। साथै, ग्यास आइपुग्दा प्रशासनलाई जानकारी गराई कति ग्यास प्राप्त भयो भन्ने विवरण अभिलेखीकरण गर्न निर्देशन दिइएको छ। पाख्रीबासस्थित ग्यास विक्रेता जीवन श्रेष्ठले कम्पनीले पठाएअनुसार सीमित परिमाणमा ग्यास ल्याएर बिक्री गरिरहेको बताउनुभयो। उहाँका अनुसार ग्यास कम मात्रामा आउने र सबै उपभोक्तालाई उपलब्ध गराउन नसक्दा अभावको अवस्था सिर्जना भएको हो। कम्पनीले पर्याप्त ग्यास नपठाउँदा बजारमा ग्यासको चरम अभाव देखिएको पाइएको छ।
अनुगमनका क्रममा ग्यास डिलरमार्फत मात्र बिक्री–वितरण गर्न निर्देशन दिइएको छ। एउटा परिवारलाई एकपटकमा एउटा मात्र सिलिन्डर उपलब्ध गराउन पनि डिलरलाई आग्रह गरिएको छ। डिलरबाट सहज रूपमा ग्यास प्राप्त नभएपछि उपभोक्ता किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास किन्न बाध्य भएको गुनासो आएपछि अनुगमनलाई थप तीव्रता दिइएको प्रशासनले जनाएको छ।
ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न, आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण नगर्न तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अनुगमन टोलीले विक्रेतालाई आग्रह गरेको छ। धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपाने र जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० हेमन्त भण्डारी क्षेत्रीसहितको टोलीले अनुगमन गरेको थियो।


