इटहरी ।  खाना पकाउने एलपी ग्यासमा तोकिएकोभन्दा बढी मूल्य असुली हुन थालेपछि इलाम नगरपालिकाले बजार अनुगमनका लागि नगर प्रहरी परिचालन गरेको छ।

उपभोक्ताबाट ग्यास बिक्रेताले तोकिएको मूल्यभन्दा बढी रकम लिने गरेको गुनासो आएपछि नगरपालिकाले बिहीबारदेखि नगर क्षेत्रका ग्यास बिक्री केन्द्रमा नगर प्रहरी खटाएको हो। नगर प्रहरीले नेपाल आयल निगमले निर्धारण गरेको मूल्यमा मात्रै ग्यास बिक्री गर्न व्यवसायीलाई आग्रह गर्नेछ। इलाममा पछिल्लो समय उपभोक्ताले एउटा सिलिन्डर ग्यासका लागि २ हजार २ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन्।

नेपाल आयल निगमले तोकेको मूल्यअनुसार इलाममा एलपी ग्यासको अधिकतम खुद्रा मूल्य २ हजार ६० रुपैयाँ रहेको जनाइएको छ।नगरपालिकाका प्रमुख केदार थापाले उपभोक्तालाई तोकिएको मूल्यमा नै ग्यास उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेका छन्। उनले ग्यास बिक्री हुने सबै स्थानमा नगर प्रहरी परिचालन गरिएको बताए। व्यवसायीले भने मेची राजमार्गअन्तर्गत माईखोला–राजदुवाली क्षेत्रमा करिब एक महिनादेखि सडक अवरुद्ध हुँदा ढुवानीमा समस्या भएको र त्यसका कारण ग्यासको मूल्य बढेको दाबी गर्दै आएका छन्।

ठूला सवारीसाधनले गोदकसम्म मात्रै ग्यास ल्याउने र त्यहाँबाट साना सवारीमा ढुवानी गर्नुपर्दा लागत बढेको व्यवसायीको भनाइ छ।नगर प्रमुख थापाका अनुसार अब ठूला सवारीसाधनबाटै ग्यास इलाम बजारसम्म ल्याउने व्यवस्था मिलाइएको छ। यसबाट ढुवानी लागत घट्ने र उपभोक्ताले राहत पाउने नगरपालिकाको अपेक्षा छ।

तोकिएको मूल्यभन्दा बढी रकम असुली गरेको पाइएमा प्रमाणसहित सम्बन्धित निकायमा उजुरी गर्न नगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ। बढी मूल्य असुली गरेको प्रमाणित भए कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नगरपालिकाले बजारमा अनुगमन तीव्र बनाएसँगै ग्यास बिक्रीमा हुँदै आएको मनपरी मूल्य असुली नियन्त्रण हुने अपेक्षा गरिएको छ।