इटहरी। गएको आर्थिक वर्षमा विदेशी मुद्रा आर्जनमा अब्बल बनेको अलैँची यस वर्ष पनि टिप्न सुरु भएको छ । इलामको तल्लो क्षेत्रका किसानले जिर्मले जातको अलैँची टिप्न थालेका हुन् । तातो तथा पारिलो क्षेत्रमा लगाइने यो अलैँची धमाधम टिप्न थालिएको रोङ गाउँपालिकाका किसानले बताएका छन् ।
रोङ गाउँपालिकाका सबै जसो वडामा जिर्मले जातको अलैँची लगाइएको छ । पालिकाका सबै जसो वडामा अलैैैँची टिप्न सुरु भएको रोङ गाउँपालिकाका गुरु किसानसमेत रहनुुभएका वडा–३ का किसान राम आचार्यले बताउनुुभयो । गत वर्ष १६ मन अलैँची बेचेका आचार्यले यस वर्ष सात मन नयाँ तयारी अलैँची बेचिसक्नुभएको छ । ५० रोपनी जमिनमा अलैँची लगाएका आचार्यले यस वर्ष भने २५ मन जति उत्पादन हुने अनुुमान रहेको बताउनुुभयो । रोङसहित जिल्लाका माईजोगमाई, इलाम नगरपालिकालगायत तातो तथा खोलाकिनार क्षेत्रमा जिर्मले जातको अलैँची टिप्न थालिएको छ । अन्य जात भार्लाङ, रामसाही, गोलसाही, सेरेना, चिवेलगायतका जातका अलैँची भने अझै केहीपछिदेखि मात्र टिपाइ सुुरु हुने किसानले बताएका छन् । गत वर्ष प्रतिमन एक लाख छ हजार रुपियाँसम्म खरिदबिव्रmी भएको अलैँची यस वर्ष भने सिजनको सुरुमा ९६ हजारदेखि एक लाख रुपियाँसम्म रहेको अलैँची व्यवसायी सङ्घका अध्यक्ष दीपक नेपालले बताउनुुभयो ।
आव २०८२/८३ मा अहिलेसम्मकै उच्च मूल्य अर्थात् १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार मूल्य बराबरको अलैँची निर्यात भएको थियो । गत वर्ष झापाको काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलो अलैँची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । विशेष गरी इलाम, पाँचथर, ताप्लेजुुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटालगायतका कोशी पहाडमा जिल्लामा अलैँची सबैभन्दा बढी उत्पादन हुने गरेको अलैँची विकास केन्द्रले जनाएको छ ।


