इटहरी।  इलामको रोङ गाउँपालिकाले विद्यार्थीलाई आर्थिक कारोबारमा जोड्न थालेको छ । विद्यार्थीलाई बचत गर्ने बानी विकास गरी उच्च शिक्षा अध्ययनमा सहज बनाउने उद्देश्यले गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीलाई आर्थिक कारोबारमा जोड्न थालेको हो । 

मासिक रूपमा बाल बचत कार्यक्रममा विद्यार्थीलाई समावेश गराएको गाउँपालिकाले विद्यार्थीलाई सेयर बजारमा समेत जोडेको छ । दुई हजार १२९ जना विद्यार्थीको बाल बचत खाता सञ्चालन गरिएको छ । गाउँपालिकाले पहिलो चरणमा उद्यमशीलता कार्यक्रम अन्तर्गत ४६० विद्यार्थीको डिम्याट खाता खोलिसकेको छ भने १५८ विद्यार्थीको सिआरएन लिङ्कसमेत आइसकेको छ । अहिले विद्यार्थीका नाममा विभिन्न कम्पनीका आइपिओ पर्न थालेका छन् । गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी उद्यमशीलता कार्यक्रम कार्यविधि, २०८० निर्माण गरी एक विद्यार्थी दैनिक एक रुपियाँ बचत, अभिभावकविहीन विद्यार्थी व्यवस्थापन, विद्यार्थी उद्यमशीलता र प्रोत्साहन कार्यव्रmम सञ्चालन गरेको छ । बाल बचत कार्यक्रम अन्तर्गत दुई वर्ष आठ महिनामा ७० लाख ५८ हजार ३६५ रुपियाँ जम्मा भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो । गाउँपालिकाले विद्यार्थीलाई आइपिओमा जोडेपछि हालसम्म १६ वटा सेयर विद्यार्थीका नाममा परिसकेको अध्यक्ष स्याङ्बोले बताउनुभयो । गाउँपालिकाले सिद्धि हाइड्रोपावर कम्पनीले गाउँपालिकाभित्रका १८ जना अभिभावकविहीन विद्यार्थीलाई अध्ययनमा सहज बनाउन प्रतिविद्यार्थी २० हजार रुपियाँका दरले बैङ्क खातामा रकम जम्मा गरेको छ । अभिभावकविहीन विद्यार्थी कार्यविधि निर्माण भएपछि उक्त कम्पनीले विद्यार्थीका खातामा रकम जम्मा गरेको गाउँपालिकाले जनाएको छ । सेयर बजारमा विद्यार्थी जोडिएपछि विभिन्न कम्पनीको आइपिओ विद्यार्थीलाई पर्न थालेको छ । 

गाउँपालिकाले अभिभावकविहीन विद्यार्थीका लागि कार्यविधि बनाएपछि उज्यालो भविष्य भत्ता शीर्षकमा गाउँपालिकाले मासिक दुई हजार रुपियाँ जम्मा गरेको छ । अभिभावकविहीन विद्यार्थीका लागि माध्यमिक शिक्षासम्म निःशुल्क अध्ययन गराउन प्रतिविद्यार्थी १० हजार र सिद्धि हाइड्रोले २० हजार रुपियाँ गरी ३० हजार रुपियाँ जम्मा गरिसकेको छ । गाउँपालिकाले शिक्षाक्षेत्रलाई व्यवस्थित गर्न गाउँपालिकामा अभिभावक शिक्षासमेत सञ्चालन गर्दै आएको छ ।