इटहरी। भैँसीपालनमा किसानको आकर्षण बढ्दै गए पनि उन्नत जातका भैँसी सहज रूपमा उपलब्ध नहुँदा किसान समस्यामा परेका छन् । दुधजन्य सामग्री तथा मासुको बजार राम्रो भएसँगै किसान भैँसीपालनतर्फ आकर्षित भएका हुन् । उन्नत जातका भैँसी सहज रूपमा उपलब्ध नहुँदा किसान समस्यामा परेका बताइएको छ ।
भैँसीपालनका लागि किसानले अनुसन्धान केन्द्र तथा सरकारी फार्ममा सम्पर्क गर्ने गरे पनि माग अनुसार भैँसी उपलब्ध गराउन नसकिएको राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहराका वैज्ञानिक पवनकुमार झाले बताउनुभयो । उहाँका अनुसार पछिल्ला एकदुई वर्षयता भैँसीपालनमा किसानको रुचि बढेको छ । तराईका साथै पहाडी जिल्लाबाट समेत उन्नत जातका भैँसी तथा प्रजननयोग्य राँगाको माग आउने गरे पनि माग अनुसार उपलब्ध गराउन कठिन भइरहेको छ । अनुसन्धान केन्द्रले गत वर्ष करिब ५० वटा राँगा किसानलाई उपलब्ध गराएको थियो । माग अनुसार सुनसरी, मोरङ, सप्तरी, उदयपुर, भोजपुर, धनकुटा, जनकपुरलगायतका क्षेत्रमा राँगा पठाइएको झाले बताउनुभयो । किसानको माग अनुसार पर्याप्त सङ्ख्यामा प्रजननयोग्य भैँसी तथा राँगा उत्पादन गर्न नसकिएको उहाँको भनाइ छ । राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रमले मुख्य रूपमा मुर्रा जातको भैँसीमा अनुसन्धान गर्दै आएको छ । अनुसन्धान कार्यव्रmमसँग हाल मुर्रा तथा मुर्रा ग्रेडिङ गरिएका गरी एक सयभन्दा बढी भैँसी रहेको उहाँले बताउनुभयो । पश्चिम नेपालबाट स्थानीय जातका भैँसीसमेत ल्याएर अनुसन्धान तथा आनुवंशिक स्रोत संरक्षणको काम भइरहेको छ । वैज्ञानिक झाका अनुसार नेपालमा उपलब्ध अधिकांश मुर्रा भैँसी शुद्ध नभई स्थानीय जातमा मुर्रा जातको गुण थप्दै लैजाने ‘ग्रेडिङ अप’ प्रव्रिmयाबाट विकास गरिएको छ । स्थानीय भैँसीमा कृत्रिम गर्भाधान तथा प्राकृतिक प्रजननमार्फत मुर्राको गुण सुधार गर्दै लगिने गरेको उहाँले जानकारी दिनुभयो ।
किसानको माग पूरा गर्न सरकारी फार्मलाई राम्रोसँग विकास गरेर किसानले अधिकतम लाभ लिन सक्ने ‘रिसोर्स सेन्टर’ बनाउनुपर्ने झा बताउनुहुन्छ । भैँसी अनुसन्धानमा आवश्यक बजेट र दक्ष जनशक्तिको अभावसमेत चुनौती रहेको उहाँले बताउनुभयो । भैँसीलाई सरकारले प्राथमिकतामा राखे पनि त्यो अनुसार बजेट प्रवाह हुन नसकेको उहाँको भनाइ छ । भैँसीको नस्ल सुधार, आहार, प्रजनन, स्वास्थ्य तथा उत्पादन वृद्धिका लागि अनुसन्धानसँगै त्यसबाट प्राप्त उपलब्धि किसानसम्म पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।भैँसीपालनमा तराईका किसानको सहभागिता बढी भए पनि पछिल्लो समय पहाडी जिल्लाबाट समेत माग बढेको छ । धनकुटा, भोजपुरलगायतका क्षेत्रमा भैँसीपालन विस्तार हुँदै गएको र त्यहाँबाट समेत उन्नत जातका भैँसीको माग आउन थालेको केन्द्रले जनाएको छ । किसानको माग बढ्दै गए पनि अनुसन्धान केन्द्रसँग पर्याप्त उत्पादन क्षमता नहुँदा किसानलाई निजी स्रोतबाट उन्नत भैँसी खोज्नुपर्ने बाध्यता छ ।
नेपालमा मुर्रा तथा मुर्रा व्रmस भैँसीको सङ्ख्या बढी रहे पनि पश्चिम नेपालमा पाइने स्थानीय जातको संरक्षणलाई पनि अनुसन्धानले प्राथमिकता दिएको बताइएको छ । स्थानीय आनुवंशिक स्रोत संरक्षणसँगै उत्पादनशील उन्नत जातको विकास गर्न सके भैँसीपालनलाई व्यावसायिक र दिगो बनाउन सकिने वैज्ञानिक झाको भनाइ छ ।


