इटहरी। उदयपुरमा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थलका लागि छुट्याइएको जग्गा विस्तारै अतिक्रमणको जोखिममा परेको छ । बजेट अभावका कारण विमानस्थल निर्माणको काम अघि नबढेपछि खुला रहेको उक्त जग्गामा स्थानीयले विभिन्न प्रयोजनका लागि प्रयोग गर्न थालेका छन् ।
त्रियुगा नगरपालिका–१ र २ अन्तर्गतको सामुदायिक वन क्षेत्रका १५७ हेक्टर जग्गा विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको थियो । सो क्रममा करिब २६ प्रजातिका झण्डै १५ हजार रुख कटान गरी विमानस्थल निर्माणका लागि जग्गा खाली गरिएको थियो । तर पछिल्लो समय वन क्षेत्रका रुख कटान र काठ बिक्रीबाहेक विमानस्थल निर्माणसँग सम्बन्धित अन्य काम पूर्ण रूपमा रोकिएको छ । निर्माण कार्य लामो समयदेखि अघि नबढ्दा स्थानीयबाट पुनः जग्गा अतिक्रमण हुन सक्ने जोखिम बढेको त्रियुगा नगरपालिका–२ का वडाध्यक्ष घमानसिंह खत्रीले बताउनुभयो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाले विमानस्थल निर्माणका लागि आवश्यक बजेट अभावका कारण काम अघि बढ्न नसकेको बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा जग्गा संरक्षणका लागि घेराबेरा निर्माण गर्न एक करोड रुपियाँ विनियोजन गरेको छ ।
उहाँले विमानस्थल निर्माणको दीर्घकालीन योजना रहे पनि तत्कालका लागि जग्गा संरक्षणलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । यसैबिच, विमानस्थल निर्माणको काम अनिश्चित बनेपछि स्थानीयवासीले उक्त जग्गामा घाँस खेती गर्न थालेका छन् । स्थानीयवासी तथा समाजसेवी टिकाराम बुढाथोकीका अनुसार विभिन्न व्यक्तिले पाँचदेखि १० कठ्ठासम्म क्षेत्रफल छुट्याएर भुइँघाँस तथा डालेघाँस खेती सुरु गरेका छन् । उहाँका अनुसार हाल अस्थायी रूपमा घाँस खेती गरिए पनि भविष्यमा यही आधारमा जग्गा कब्जा हुने खतरा बढ्न सक्ने भएकाले यथाशीघ्र घेराबेरा गरी सरकारी जग्गाको संरक्षण गर्न आवश्यक छ ।


