इटहरी :  तेह्रथुमको छथर गाउँपालिकामा पारिस्थितिक प्रणाली पुनस्र्थापना गर्दै स्थानीय समुदायको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले सञ्चालन भइरहेको परियोजनाको अनुभव आदान–प्रदान तथा साझेदारी कार्यशाला सम्पन्न भएको छ ।

‘समुदायको नेतृत्वमा छथरको भू–परिदृश्य पुनर्जीवनमार्फत पारिस्थितिक प्रणाली पुनस्र्थापना तथा जीविकोपार्जन सुधार परियोजना’ अन्तर्गत आयोजित कार्यशाला छथरको शुक्रबारेमा सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक वन, वातावरण संरक्षण, जैविक विविधता, प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीयको आयआर्जनका विषयमा छलफल गरिएको थियो । कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ तेह्रथुम र छथर गाउँपालिकाको आयोजनामा भएको हो । परियोजनाले स्थानीय समुदायलाई नै संरक्षणको नेतृत्वमा सहभागी गराउँदै प्राकृतिक स्रोतको संरक्षणसँगै उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य लिएको छ ।कार्यक्रममासामुदायिक वन उपभोक्ता महासंघं कोशी प्रदेशका अध्यक्ष तुलसी संग्रौलाले वन तथा प्राकृतिक स्रोतको संरक्षण समुदायको सक्रिय सहभागिताबिना सम्भव नहुने धारणा राखे । सामुदायिक वनले संरक्षणसँगै स्थानीयको आयआर्जन र जीवनस्तर सुधारमा योगदान पुर्‍याउनुपर्नेमा उनले जोड दिए । संरक्षणका कार्यक्रमलाई स्थानीय आवश्यकता र समुदायको अनुभवसँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो । त्यस्तै, सामुदायिक वन उपभोक्ता महासंघ तेह्रथुमका जिल्ला अध्यक्ष बुद्धिमान खुलालले तेह्रथुममा सामुदायिक वनले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। वन संरक्षणसँगै वनमा निर्भर समुदायको आर्थिक अवस्था सुधार गर्ने कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय तह, सामुदायिक वन र उपभोक्ताबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले वातावरण संरक्षण र स्थानीयको जीविकोपार्जनलाई सँगसँगै अघि बढाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए । प्राकृतिक स्रोतको संरक्षण गर्दै त्यसबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो । स्थानीय ज्ञान, सीप र स्रोतलाई उपयोग गरेर दिगो विकासका कार्यक्रम सञ्चालन गर्न सके छथरको आर्थिक तथा पर्यावरणीय अवस्था थप बलियो बन्ने उनले बताए । कार्यशालामा परियोजनाअन्तर्गत भएका गतिविधि, प्राप्त उपलब्धि, सिकाइ तथा आगामी योजनाबारे सहभागीबीच अनुभव आदान–प्रदान गरिएको थियो। प्राकृतिक स्रोतको संरक्षण, बिग्रिएका पारिस्थितिक प्रणालीको पुनस्र्थापना, जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायको आयआर्जन बढाउने विषयलाई प्राथमिकतामा राखिएको थियो ।पारिस्थितिक प्रणालीअन्तर्गत वन, पानी, माटो, वनस्पति, जीवजन्तु र मानव समुदायबीचको अन्तरसम्बन्ध महत्वपूर्ण हुन्छ । त्यसैले संरक्षणलाई केवल वन जोगाउने अभियानका रूपमा नभई समुदायको जीवन र अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्नेमा कार्यक्रमले जोड दिएको छ ।