इटहरी। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको तेल्लाकमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । नागरिकतासहितका सेवाहरु प्रवाह गर्नेगरी तेल्लाकमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।

इलाका प्रशासन कार्यालय स्थापनासँगै शुक्रबारदेखि औपचारिक रुपमा सेवासमेत सुरु भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शुक्रबार कार्यालयको उद्घाटन गर्नुहुँदै इलाका प्रशासन कार्यालयबाट सेवा प्रारम्भ भएको घोषणा गर्नुभयो । सिरिजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा सहितका जनप्रतिनिधि लगायतको उपस्थितिमा प्रजिअ दाहालले इलाका प्रशासन कार्यालयबाट सेवा सुरु भएको घोषणा गर्नुभएको हो । इलाका प्रशासन कार्यालयबाट पहिलो सेवा प्रवाहका रुपमा सिरिजङ्घा–२ आम्बेगुदिनका महेश भट्टराई नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ । इलाका प्रशासन कार्यालयका प्रमुख श्यामलाल पन्थीले अब कार्यालयबाट नियमित सेवा प्रवाह हुने जानकारी दिनुभयो । सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट नयाँ नागरिकता, २०६३ सालपछि जारी भएको नागरिकताको प्रतिलिपि, जनजाति सिफारिस लगायतका सेवा प्रवाह हुने छ । राष्ट्रिय परिचयपत्रसहितका अन्य सेवाहरु पनि क्रमशः इलाका प्रशासन कार्यालयबाटै प्रवाह गर्ने तयारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एकजना कार्यालय प्रमुख अधिकृत स्तर, दुई जना नायवसुब्बा, एक जना सहायक कम्प्युटर अप्रेटर र दुई जना कार्यालय सहयोगी दरबन्दी रहने इलाका प्रशासन कार्यालयमा आवश्यक सबै जनशक्तिको व्यवस्थापन भई नसकेको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार कायममुकायम कार्यालय प्रमुखका रुपमा नायवसुब्बा पन्थी इलाका प्रशासन कार्यालयमा खटिनुभएको हो । आवश्यक दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन भएपछि पन्थी आफ्नो दरबन्दी भएको ठाउँमा फर्कनुहुने सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सकेसम्म केही दिनभित्रै इलाका प्रशासन कार्यालयका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने पहल भइरहेको छ । तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका सेवाग्राहीले नागरिकता बनाउन सदरमुकाम फुङ्लिङ धाउनुपर्ने अवस्थाको अन्त्य भएको सिरिजङ्धा गाउँपालिका अध्यक्ष चौहानले बताउनुभयो । यता सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांस वडाका सेवाग्राहीले इलाका प्रशासन कार्यालय स्थापना भएपछि सहज हुने भएको महशुस गरेका छन् । सिदिङ्वा गाउँपालिकाका केही वडालाई भने सदरमुकामभन्दा अपायक परेको सेवाग्राही बताउँछन् । सिदिङ्वाको वडा १ कालिखोला, वडा २ सादेवा, वडा ३ आङ्खोप र वडा ४ साब्लाखुका सेवाग्राहीलाई समेत यातायात असुविधाका कारण तेल्लोकसम्म सेवा लिन जानलाई असहज अर्थात टाढा भएको उनीहरुको भनाइ छ ।