इटहरी : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाइने बताएका छन् ।

शुक्रबार इनरुवास्थित चार सय केभी भोक्राहा सबस्टेसनको निरीक्षण गर्दै उनले विद्युत् उत्पादनसँगै आन्तरिक खपत कसरी वृद्धि गर्ने भन्ने विषयमा ध्यान दिन आवश्यक रहेको बताए । इनरुवालाई विद्युत्को ‘हब’का रूपमा विकास गर्न सकिने उल्लेख गर्दै मन्त्री श्रेष्ठले पूर्वी क्षेत्रमा देखिएका विद्युत् समस्या समाधान तथा प्रसारण प्रणालीमा सुधार गरिने बताए । उनले विद्युत् निर्यातसँगै देशभित्रै खपत बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाउनुका साथै सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरण र विद्युत् भारत निर्यातका लागि आवश्यक पूर्वाधार विकासमा समेत सरकारले काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

भोक्राहा सबस्टेसन तथा सुनसरी खोलाको स्थलगत निरीक्षणका क्रममा उनले पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्थाबारे पनि जानकारी लिए । मन्त्री श्रेष्ठले विद्युत्मा देखिएका समस्यालाई प्राथमिकताका आधारमा क्रमशः समाधान गर्दै लैजानुका साथै आवश्यक रणनीति निर्माण र नीतिगत सुधार गर्नुपर्ने भए त्यसतर्फसमेत काम गरिने बताए ।